साझा डायरी, बाणगंगा ।

१२ औँ कपिलवस्तु डान्स आइडल अन्तर्गतको पहिलो अडीसन आज देखि सुरु भएको छ ।१४ औं कपिलवस्तु महोत्सव अन्तर्गत आयोजना हुने आइडलका लागि आयोजक बाणगंगा वेयलफेयर सोसाइटीको भवनमा आजदेखि डान्स आइडलको अडिसन सुरु भएको हो ।

अडिसनमा आईडलमा भाग लिन ईच्छुक कलाकारहरुले आ–आफ्ना नृत्य प्रस्तुत गरेका थिए । चारनम्बरको जितपुर बुद्ध रंगशालामा हुने महोत्सवको बिशेष प्रस्तुतिको रुपमा डान्स आइडल रहने आइडल संयोजक खड्क बहादुर क्षेत्रीले बताए ।१४ औं कपिलवस्तु महोत्सवसँगै डान्स आइडललाई भव्य र सभ्य रुपमा सम्पन्न गर्ने गरी आफूहरु व्यापक सक्रिय भएर लागेको महोत्सवका संयोजक राजकुमार खाँणले बताए । महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाह दिनेशले महोत्सवसँगै डान्स आइडललाई विशेष र एतिहासिक बनाउने गरी सहयोग गर्न सबैमा अपिल गरे ।

१२ औं कपिलवस्तु डान्स आइडलको प्रमुख निर्णायक हरिशरण रिजालले डान्स आइडल सुनौलो अवसर भएको र राम्रो कलाकार राम्रो डान्सर बन्ने अवसर भएको बताए । रिजालले डान्स आइडलबाट कलाकारिता क्षेत्रको नयाँ बाटो खुल्ने र प्रतिष्पर्धीलाई म्युजिक भिडियोदेखि लिएर राष्ट्रिय तहमा समेत स्थान दिने बताए ।

आइडलमा प्रथम हुनेलाई १ लाख २१ हजार १ सय २१ रुपैयाँसँगै चादीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।आइडलको दोस्रो अडिसन राउण्ड मंसिर ८ गते ११ः०० बजे हुने आयोजकले जनाएका छन् ।