कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. २ र ८ बाट दुई सयभन्दा बढी जेन–जी युवा नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रवेश गरेका छन्। पछिल्लो समय जेन–जी पुस्ताका युवाहरूको उल्लेखनीय सहभागिताले एमालेप्रति युवापुस्ताको आकर्षण बढ्दै गएको देखिएको छ।

नवप्रवेशी जेन–जी युवाहरूलाई नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा पूर्व मन्त्री बलराम अधिकारी, युवा नेता विष्णु प्रसाद पन्थी र गिरधारीलाल न्यौपाने लगायतले खादा तथा टिका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो।

कार्यक्रममा बोल्दै युवा नेता विष्णु प्रसाद पन्थीले जेन–जी पुस्ताका युवाहरूको सक्रिय सहभागिताले पार्टी अझ सुदृढ र गतिशील बन्दै गएको बताउनुभयो। उहाँले राष्ट्रवाद, विकास र स्थायित्वको एजेण्डा अघि बढाउन जेन–जी युवापुस्ताको साथ महत्वपूर्ण हुने धारणा व्यक्त गर्नुभयो।

नवप्रवेशी जेन–जी युवाहरूले पनि राष्ट्रियता र विकासको पक्षमा एमाले दृढतापूर्वक अघि बढिरहेको उल्लेख गर्दै सूर्यध्वजावाहक उम्मेदवार विश्राम प्रसाद चौधरीलाई विजयी गराउन सक्रिय रूपमा चुनावी अभियानमा जुट्ने प्रतिबद्धता जनाएका छन्।

यस्तै, एमाले नेता विष्णु गिरीले जेन–जी युवाहरूको उत्साहजनक सहभागिताले पार्टीभित्र नयाँ ऊर्जा थपिएको बताउनुभयो। निर्वाचन परिचालन कमिटीका संयोजक डम्मर शर्माले समेत युवाहरूको ठूलो संख्यामा भएको प्रवेशले चुनावी अभियानमा थप उत्साह थपिएको प्रतिक्रिया दिनुभयो।

कार्यक्रमबारे जानकारी युवा नेता तिलक गिरीले दिनुभएको थियो। उहाँका अनुसार आगामी निर्वाचनलाई लक्षित गर्दै जेन–जी युवाहरूको सहभागिता र संगठन विस्तारलाई अझ तीव्र बनाइनेछ।

कपिलवस्तु क्षेत्र नं. १ का युवा परिचालन समितिका सह–संयोजक किरण खड्काले जेन–जी युवाहरूको बढ्दो सहभागिताले एमालेको चुनावी अभियान थप मजबुत बनेको बताउँदै आगामी निर्वाचनमा युवाहरू निर्णायक शक्ति बन्ने विश्वास व्यक्त गर्नुभयो।