सल्यानमा चुनावी प्रचारका लागि प्रयोग भएको जिपमा चामल र मदिरा राखिएको अवस्थामा फेला परेको छ।

सोमबार बिहान पौने १० बनगाड–कुपिण्डे नगरपालिका–१ सल्लीबजारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को झण्डा प्रयोग भएको गाडीमा मदिरा, चामल लगायत वस्तुहरू फेला परेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।

कर्णाली प्रदेश ०२–००१ च ०४२९ नम्बरको जिपमा दुई बोरा चामल, २१० बोत्तल मदिरा र दुई कार्टुन बियर, खाने तेल तीन कार्टुन फेला परेको प्रहरी निरीक्षक भट्टराईले बताए।

प्रहरीले चालक सिद्धकुमाख गाउँपालिका-४ का २४ वर्षीय चन्द्रप्रकाश बुढाथोकी र सोही गाडीमा सवार बनगाड कुपिन्डे नगरपालिका–१ का ३७ वर्षीय मोहन बिसीलाई पनि नियन्त्रणमा लिएको छ।

चालक बुढाथोकीले उक्त सामान बिसीको रहेको र उनले त्यो सामान बनगाड कुपिन्डे–५ खैरागार तर्फ लैजान भनेको हुँदा आफूले राखिदिएको बयान दिएका छन्।

प्रहरीले निर्वाचनलाई लक्षित गरी ती सामान बाँड्न सक्ने आशंकामा नियन्त्रणमा लिएको प्रहरी निरीक्षक भट्टराईले बताए।