कपिलवस्तु, नेपाली काँग्रेस कपिलवस्तु क्षेत्र नं. १ ले प्रतिनिधीसभा निर्वाचनका लागी सो क्षेत्रको सङकल्प पत्र (भिजन सेवेन) सार्वजनिक गरेको छ । पार्टीको केन्द्रले जारी गरेको भिजन टेनलाई आधार बनाएर कपिलवस्तु १ मा काँग्रेसले भिजन सेवन सङकल्प पत्र सार्वजनिक गरेको हो । नेपाली काँग्रेस जिल्ला निर्वाचन परिचालन समितीका संयोजक शक्ति सिंह ठकुरी, समानुपातिक उम्मेदवार बिमला गैरे, बाणगंगा नगरपालिकाका पुर्व नगर प्रमुख मंगल प्रसाद थारु, बाणगंगा नगर सभापति बिष्णु थापा, जिल्ला सदस्य टेक बहादुर शाही, नेता ध्रुव नेपाल सहित अग्रज नेता कार्यकर्तालाई साक्षी राखेर प्रतिनिधी सभा क्षेत्र नम्बर १ का नेपाली काँग्रेसका उम्मेदवार अतहर कमाल मुसलमानले सङकल्प पत्र सार्वजनिक गरेका हुन । नेता कमालको आफ्नै वडा बाणगंगा नगरपालिका वडा नं. ११ देउवापार स्थित नेता राम शंकर थारुको घरमा सङकल्प पत्र सार्वजनिक गरिएको हो ।

सङकल्प पत्र (भिजन सेवेन) मा शिक्षा, दिगो पुर्वाधार, खेल सिप अवसर र युवा, कृषी तथा सिचाँई, सामाजिक सशक्तिकरण, सदभाव र सुशासन, व्यवसाय प्रबद्र्धन गरि सात वटा भिजन राखेर सार्वजनिक गरिएको हो । जस्मा शिक्षा तर्फ बाणगंगामा जिपी मेमोरियल टेक्निकल ईन्स्टिच्युटको कार्य सुचारु, वन विज्ञान अध्ययन संस्थान स्थापना, अम्बेडकर समतामुलक शिक्षालय स्थापना सहितका कार्य गर्ने प्रतिबद्धता जनाईएको छ ।

त्यसै गरि पुर्वाधार तर्फ कपिलवस्तु विकास कोष गठनका लागि पहल, सडक पुर्वाधारहरुको निर्माण, तिन पालिकामा व्यवस्थित बसपार्क निर्माण र आदीवासी जनजाती संग्राहलय स्थापना गर्ने जनाईएको छ । त्यसै गरि खेलकुद र युवा तर्फ रंगशाला र खेल मैदान निर्माण, युवा स्टार्टअप कोष निर्माण गर्न नितीगत पहल, युवा स्वरोजगारका लागी सिप प्रबद्र्धनको कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ । कृषी तर्फ सिचाई पुर्वाधार निर्माण, छाडा र जंगली जनावरको व्यवस्थापन र क्षतिपुर्तिको सुनिश्चितता, भुमीहिन अव्यवस्थित जग्गा र सुकुम्बासीको समस्या समाधानमा पहल, दुध संकलन केन्द्र तथा चिस्यान केन्द्र स्थापनामा समन्वय र पशु पकेट क्षेत्रको रुपमा बिकास गर्ने कार्यक्रम सञ्चानमा पहल गर्ने प्रतिबद्धता छ ।

सामाजिक सशक्तिकरण तर्फ युवा र महिलाको आर्थिक सशक्तिकरण, दुव्र्यसन मुक्त समाज निर्माणमा पहल, सहकारी प्रबद्र्धन, थारु तथा अवधी भाषा संरक्षण गर्दै स्थानिय पाठ्यक्रममा संलग्न गराउन पहलकदमी लिने, थारु पर्यटन प्रबद्र्धन केन्द्रको बिकास गर्ने, दलित मधेसी मुस्लिम जनजाती गरिब र बिपन्न युवालाई प्राविधिक र उद्धमशिलता सँग जोड्नुका साथै स्वरोजगारका कार्यक्रममा प्राथमिकता दिने सङकल्प पत्रमा उल्लेख छ । त्यसै गरि सदभाव र सुशासनका लागी शान्ति र सहकार्यको वातावरण निर्माण गर्ने, सदनमा उठाउने मुद्दा संवाद मार्फत तय गर्ने, मासिक रिपोर्ट कार्ड प्रस्तुत गर्ने, नागरिक सहभागीतामुलक बजेट बिनीयोजन गर्ने र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निती अख्तियार गर्ने प्रतिबद्धता जनाईएको छ ।

व्यवसाय प्रबद्र्धन तर्फ व्यापार सहजीकरण र व्यापारमैत्री निती निर्माण, चाकरचौडा भंसारमा सवारी आवागमन खोल्न भंसार सुबिधाका लागि नितीगत पहल गर्ने, यातायात व्यवस्था सेवा कार्यालयमा लाईसेन्स र सवारी नामसारीको सेवा बिस्तारका लागी पहल कदमी लिने उल्लेख छ । प्रस्तुत गरिएको सङकल्प पत्रमा नितीगत र कार्यक्रमगत दुवै बिषयलाई प्राथमिकता दिईएको देखिएको छ ।
सङकल्प पत्र प्रस्तुत गर्दै उम्मेदवार कमालले आफुले बिगतमा लिएको अनुभवकै आधारमा सङकल्प पत्रमा पुरा गर्न सक्ने र पुरा गर्ने बिषयहरु मात्रै राखिएको बताए ।

“हामीले पुरा गर्न सक्ने मात्रै बिषयहरु सङकल्पपत्र मार्फत प्रस्तुत गरेका छौं । सङकल्प पत्रको कार्यान्वयनमा पुर्ण प्रतिबद्ध छौं । सङकल्प पत्रको कार्यान्वयनको बिषय आम मतदाता र नागरिकलाई नियमित सुचित गर्ने छौं ।” उनले भने । केन्द्रको भिजन टेनलाई आधार बनाई क्षेत्रमा समेत भिजन सेवेनको सङकल्प पत्र ल्याईएको उनको प्रष्टोक्ति थियो । पार्टीले सङकल्प पत्रका प्रत्यक बिषयलाई कार्यान्वयनमा प्राथमिकता दिने जनाउदै सबैलाई एकबद्ध भएर प्रचार प्रसारमा खटिन नेपाली काँग्रेस जिल्ला निर्वाचन परिचालन समितीका संयोजक शक्ति सिंह ठकुरीले आग्रह गरे ।