आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कपिलवस्तु क्षेत्र नं. १ मा चुनावी माहोल तातेको छ। यही क्रममा वाणगंगा नगरपालिकाको वडा नं. ६ मा आज स्वतन्त्र उम्मेदवार आशिष शर्माले सञ्चालन गरेको घरदैलो अभियानले चुनावी समीकरण नै बदलिँदै गएको संकेत दिएको छ।

घर–घरमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका शर्माले शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि र पूर्वाधारसँग जोडिएका स्थानीय समस्या ध्यानपूर्वक सुने। यसक्रममा मतदाताले वर्षौंदेखि दलगत राजनीति र पुरानो नेतृत्वबाट अपेक्षित परिवर्तन नआएको गुनासो गर्दै “अब दल होइन, योग्य युवा” रोज्नुपर्ने स्पष्ट सन्देश दिएका छन्।

वडा नं। ६ का मतदाताले सक्षम, इमानदार र युवापुस्ताको प्रतिनिधित्व गर्ने उम्मेदवारका रूपमा आशिष शर्मालाई दलगत सीमाभन्दा माथि उठेर विजयी गराउनुपर्ने धारणा खुलेर व्यक्त गरेका छन्। स्थानीयको भनाइमा, शर्मामा न घमण्ड छ, न स्वार्थ—उनीसँग छ केवल कपिलवस्तुलाई राष्ट्रिय स्तरमा चिनाउने स्पष्ट लक्ष्य र काम गर्ने अठोट।

स्वतन्त्र उम्मेदवारीसहित चुनावी मैदानमा उत्रिएका शर्मा हाल जिल्लाको राजनीतिमा सशक्त, भरोसायोग्य र परिणाममुखी विकल्पका रूपमा उदाउँदै गएका छन्। दलका उम्मेदवारसँग तुलना गर्ने अवस्था नै नरहेको भन्दै धेरै मतदाताले यसपटक स्वतन्त्र उम्मेदवारको पक्षमा माहोल बनेको बताएका छन्। विशेषगरी युवा, महिला र अनुभवी मतदातासमेत शर्माप्रति आकर्षित देखिन्छन्।

घरदैलो अभियानका क्रममा मतदाताले खुलेर भने— “धेरैपटक दलका उम्मेदवारलाई भोट दियौँ, अब यसपालि स्वतन्त्र युवालाई जिताउँछौँ।” यो आवाजले कपिलवस्तु–१ मा परिवर्तनको बलियो संकेत दिएको छ।

चुनाव चिन्ह ‘जिप’ लिएर मैदानमा होमिएका शर्मा अनुभवी नेतृत्व र नयाँ सोचको संयोजनका रूपमा लोकप्रिय बन्दै गएका छन्। पुरानो राजनीतिक शैलीप्रति निराश मतदाताले उनलाई आशा र परिवर्तनको प्रतीकका रूपमा हेर्न थालेका छन्।

नारा मात्र होइन, स्पष्ट दृष्टिकोण र कर्म सँग जोडिएको राजनीति शर्माको मुख्य पहिचान बनेको छ। जनताको दुःख–सुखमा साथ दिने स्वभाव, प्रत्यक्ष संवाद गर्ने बानी र व्यवहारिक समाधान खोज्ने शैलीले उनलाई “नेता” भन्दा पनि “आफ्नै मान्छे” को रूपमा स्थापित गरिरहेको देखिन्छ।

वडा नं. ६ मा देखिएको यो जनसमर्थनले कपिलवस्तु क्षेत्र नं. १ मा स्वतन्त्र उम्मेदवारको पक्षमा बलियो लहर सिर्जना हुँदै गएको संकेत गरेको छ। विश्वास, इमानदारी र काम गर्ने प्रतिबद्धताका कारण आशिष शर्मा अहिले धेरै मतदाताको पहिलो रोजाइ बन्दै गएका छन्। चुनाव नजिकिँदै जाँदा “जित पक्का” भन्ने आत्मविश्वास शर्माको अभियानमा स्पष्ट देखिन थालेको छ।