बाणगंगा । कपिलवस्तु निर्वाचन क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार विश्रामप्रसाद चौधरीले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको बताएका छन्। निर्वाचन प्रचारप्रसारलाई तीव्र बनाउँदै घरदैलो तथा भेटघाट कार्यक्रममा सक्रिय चौधरीले जनताको भरोसाले आफूलाई अझ जिम्मेवार बनाएको उल्लेख गरे।

चुनावी अभियानका क्रममा विभिन्न स्थानमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले भने, “जनताको विश्वास नै मेरो शक्ति हो। यही विश्वासको आधारमा म क्षेत्रको समग्र विकास र जनताको सेवामा समर्पित रहनेछु।”

उनले कपिलवस्तु क्षेत्र नं।१ मा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। चौधरीले विकासका कामलाई अझ प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्नेगरी योजना कार्यान्वयन गरिने बताए।

उम्मेदवार चौधरीले युवाहरूको बढ्दो बेरोजगारीलाई गम्भीर समस्या भन्दै रोजगारी सिर्जना गर्ने कार्यक्रम अघि बढाइने बताए। उनले कृषि उत्पादनमा आधारित उद्योग स्थापना, व्यवसायिक खेती प्रवर्द्धन तथा स्वरोजगार कार्यक्रममार्फत युवालाई आत्मनिर्भर बनाउने योजना रहेको उल्लेख गरे।