२३ माघ, काठमाडौं ।

बैतडीमा बिहीबार भएको बस दुर्घटनामा ज्यान गुमाएकाहरूको परिवारलाई सुदूरपश्चिम प्रदेश सरकारले एक/एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले मृतकका परिवारलाई राहत स्वरूप एक/एक लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले जानकारी दिए ।

उनकाअनुसार दुर्घटनामा घाइते भएकाहरूलाई सरकारी अस्पतालमा निःशुल्क उपचार गरिने निर्णय पनि गरिएको छ ।

बिहीबार साँझ बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट जन्ती लिएर बझाङ फर्किने क्रममा सुपप्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटना भएको थियो ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको छ भने अन्य ३४ जना घाइते भएका छन् ।

घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीको निसर्ग अस्पताल र चार जनाको बझाङकै देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरले जनाएको छ ।