२३ माघ, बुटवल ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट रुपन्देही–३ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार गोविन्द काराखेती पार्टीबाट निष्कासित भएका छन् ।

पार्टी हितविपरीत व्यक्तिवादी गतिविधिमा संलग्न भएको आरोपमा काराखेतीलाई कारबाही गरिएको हो । प्रलोपा रुपन्देही इन्चार्ज पंकज राईले शुक्रबार विज्ञप्ति जारी गर्दै काराखेतीले पार्टीको नीति, सिद्धान्त र विधानको गम्भीर उल्लङ्घन गरेको पुष्टि भएपछि पार्टीबाट निष्कासन गरिएको जनाएका छन् ।

विज्ञप्तिअनुसार उम्मेदवार बनेपछि काराखेतीले पार्टीका नेताहरूसँग अनुचित तरिकाले रकम माग गरेको तथा आफ्नी श्रीमती जयन्ता काराखेतीलाई श्रम संस्कृति पार्टीबाट समानुपातिक उम्मेदवार बनाएको पाइएकाले निष्कासन गरिएको उल्लेख छ ।

काराखेती निष्कासित भएपछि रुपन्देही–३ मा पार्टीको उम्मेदवार नहुने भएकाले अब कसलाई समर्थन गर्ने वा आगामी रणनीति के हुने भन्ने विषयमा पार्टी बैठकले छिट्टै निर्णय गर्ने जिल्ला इन्चार्ज राईले बताए ।

‘यस्ता क्रियाकलापले पार्टीको छविमा गम्भीर क्षति पुगेको निष्कर्ष निकाल्दै केन्द्रीय, प्रदेश र जिल्ला समितिको संयुक्त निर्णयका आधारमा उनलाई पार्टीबाट हटाइएको हो,’ जिल्ला इन्चार्ज पंकज राईद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।

प्रलोपा रुपन्देही–३ की इन्चार्ज रविना भण्डारीले काराखेतीले पार्टीलाई कुनै जानकारी नदिई व्यक्तिगत स्वार्थमा अर्को दलका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको जानकारी पाएपछि पार्टीले कारबाही गरेको बताइन् ।

भण्डारीले काराखेतीको पक्षमा पार्टीका कोही पनि नरहेकाले उनको व्यक्तिगत निर्णयले पार्टीलाई कुनै असर नपर्ने दाबी गरिन् । काराखेतीले भने आफू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्ने निर्णयमा पुगेको बताएका छन् ।

पार्टीका नेताहरूसँग रकम मागेको आरोप अस्वीकार गर्दै काराखेतीले उक्त दाबी गलत भएको बताएका छन् । तर जिल्ला इन्चार्ज राईले काराखेतीले आफ्नै ह्वाट्सएप नम्बरबाट क्यूआर कोड पठाउँदै पटक–पटक फोन गरेर रकम मागेको विषय सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।