काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले देश गिद्धले सिनो लुछेजस्तै लुछिएको अवस्थामा पुगेको भन्दै अब अन्तिम सुनामीको तयारीमा रहेको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै सभापति लामिछानेले आगामी निर्वाचनलाई लक्षित गर्दै सबै राजनीतिक शक्तिहरूलाई खुलेर वा गोप्य रूपमा जे–जस्तो गठबन्धन गर्नुपर्ने हो, गर्न चुनौती दिएका छन् ।

उनले लेखेका छन्, “मेरो खुला आग्रह छ— खुला मिल वा गोप्य मिल, जस्तो र जसको गठबन्धन गर्नुपर्ने हो, गर । अन्तिम शक्ति लगाऊ र यो सुनामी रोकेर देखाऊ ।”

लामिछानेले निर्वाचनमार्फत आएको जनमत स्वीकार गर्ने स्पष्ट पार्दै जनविद्रोहले उखेलेर फालेको पुरानो संसद् षड्यन्त्रपूर्ण ढङ्गले फर्काउने कुनै पनि प्रयास, दबाब वा धम्की स्वीकार नहुने बताएका छन् ।

फागुन २१ कुनै सामान्य मिति नभई नेपाली इतिहासको एउटा महत्वपूर्ण माइलस्टोन हुने उल्लेख गर्दै उनले फागुन २१ पछि गठन हुने संसद्‌मा प्रतिपक्षीसमेत नयाँ हुनुपर्ने धारणा व्यक्त गरे ।

उनले भने, “फागुन २१ पछि आउने संसद्‌मा प्रतिपक्षी समेत नयाँ हुनुपर्छ । सर्प त एउटा पनि पाल्न सकिँदैन । यतिका वर्ष पूरा देश लुटेर बनाइएको आपराधिक गिरोहबाट अब यो देश सदाका लागि मुक्त हुनेछ । केही बिचौलियाहरूको मुठ्ठीमा कैद रहेको यस देशको भविष्य लेख्ने जिम्मा तपाईंको हातमा सुम्पिएका छौँ— मात्र तपाईंको हातमा ।”