काठमाडौँ ।

निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेको आरोपमा थप नौ जनालाई स्पष्टीकरण सोधेको छ । अस्ति शनिवारसम्म २१ वटा स्पष्टीकरण सोधिसकेको आयोगले हिजो र आज थप नौ वटा स्पष्टीकरण माग गरेको हो ।

आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट झापाको निर्वाचन क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन्द्र शाहलाई दोस्रोपटक स्पष्टीकरण सोधेको छ । सादा पोसाकमा रहेका प्रहरी बालेनलाई भोट माग्दै गरेको देखिने श्रव्य–दृश्य सामग्री प्राप्त भएको कारण दोस्रोपटक स्पष्टीकरण मागिएको आयोगले जनाएको छ ।

शाहको चुनाव प्रचारका क्रममा सादा पोसाकमा प्रहरी खटिएको र उहाँकी श्रीमतीसँगको सम्बन्धबारे के भएको हो भनी आयोगले स्पष्टिकरण सोधेको हो ।

यस्तै आयोगले बाजुरामा रास्वपा उम्मेदवार हेमराज थापा, सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नम्बर १ का नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार माधव सापकोटा लगायतलाई पनि स्पष्टीकरण सोधेको छ । आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार अहिलेसम्म सोधिएका २९ स्पष्टीकरणमध्ये १४ वटाको जवाफ प्राप्त भएको छ ।