१९ माघ, काठमाडौं ।

राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभामा भएको सम्बोधनप्रति मिश्रित प्रतिक्रिया दिएका छन् ।

सांसदहरूले प्रधानमन्त्रीको सम्बोधनमा कुनै नयाँ वा ठोस विषय नआएको बताएका छन् । प्रधानमन्त्रीले आफ्नो कार्यकालको संकटपूर्ण अवस्था र निर्वाचन व्यवस्थापनसम्बन्धी विषयमा जानकारी गराएको उनीहरूको भनाइ छ ।

राष्ट्रिय सभा सांसद राजेन्द्रलक्ष्मी गैरेले प्रधानमन्त्री जेनजीको दबाबमा परेको र अन्य मन्त्रीहरू पनि सोही दबाबमा रहेको उल्लेख गरेको बताइन् ।

‘उहाँले आफू जेनजीको दबाबमा परेको, अन्य मन्त्रीहरू पनि त्यसै दबाबमा रहेको र अहिले चुनाव लड्न स्वतन्त्र रूपमा गएको भन्नुभयो,’ उनले भनिन् । ‘भ्रष्टाचार नियन्त्रण र निर्वाचनका विषयमा राम्रोसँग कुरा गरेका छौं भन्नुभयो । तर कुनै नयाँ ठोस कुरा आएन ।’

सांसद विष्णुकुमारी सापकोटाले प्रधानमन्त्री संकटकालीन अवस्थामा आएको र आफ्ना पीडाहरू व्यक्त गरेको जस्तो महसुस भएको बताइन् ।

‘प्रधानमन्त्रीजी संकटकालीन अवस्थामा आउनुभयो । उहाँले आफ्ना पीडाहरू व्यक्त गर्नुभएको जस्तो मैले महसुस गरेँ । अब उहाँको समय छोटो भएकाले उहाँको मन्त्रिपरिषद् निर्वाचन गराउने जिम्मेवारीसहित आएको थियो । त्यस अर्थमा उहाँ एक प्रकारले सफल हुनुभएको छ,’ उनले भनिन् ।

सांसद विष्णुदेवी पुडासैनीले प्रधानमन्त्रीको सम्बोधनले ऊर्जा प्रदान गरेको भए पनि मन्त्रीहरूको बहिर्गमनलाई सहज रूपमा लिनु गम्भीर विषय भएको बताइन् ।

‘हामीलाई एक किसिमले ऊर्जा नै प्रदान भयो । तर मन्त्रीहरू बाहिरिएको कुरालाई सहज रूपमा लिनु भयो, जुन हामीलाई असहज लाग्यो । निर्वाचन गराउन आएका मन्त्रीहरू फटाफट जाँदा असर त पक्कै परेको छ । तर त्यो खास केही होइन भन्नुभयो,’ उनले भनिन् ।

यी प्रतिक्रियाहरूले प्रधानमन्त्रीको छोटो कार्यकाल, निर्वाचन व्यवस्थापन र आन्तरिक दबाबका विषयमा राष्ट्रिय सभा सदस्यहरूको मिश्रित धारणा झल्काउँछन् ।

भेटमा नयाँ ठोस निर्णय वा घोषणा नआए पनि सांसदहरूले प्रधानमन्त्रीको निर्वाचन गराउने प्रयासलाई सकारात्मक रूपमा लिएको देखिन्छ ।