रुपन्देही ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता गर्ने निवेदन रुपन्देही जिल्ला अदालतले अस्वीकार गरेको छ ।

महान्यायाधिवक्ता कार्यालयले प्रतिवादी रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने निर्णय कार्यान्वयनका लागि दिएको निवेदन अदालतले अस्वीकार गरेको हो ।

सो अदालतका तहसिलदार कृष्णप्रसाद पौडेलका अनुसार सर्वोच्च अदालतमा उक्त विषयमा दायर रिटको टुंगो लागेपछि मात्र निवेदन पेश गर्न आदेश भएको थियो ।

माघ ६ गते न्यायाधीश श्यामलाल घिमिरेको इजलासले भनेको थियो, ‘उक्त विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको अन्तरिम आदेशको टुंगो लागेपछि मात्र पेश गर्नू’ भन्ने आदेश आएको पौडेलले जानकारी दिए ।

महान्यायाधिवक्ता कार्यालयले सहकारी ठगीलाई यथावत राख्दै सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग फिर्ता पाउन जिल्ला सरकारी वकिल कार्यालयमार्फत निवेदन पेश गरेको थियो । तर अदालतले उक्त निवेदन अस्वीकार गरेको हो ।