काठमाडौँ ।

बहुराष्ट्रिय सामाजिक सञ्जाल कम्पनी मेटा प्लेटफर्म्सले फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएपमा सशुल्क प्रिमियम सब्सक्रिप्सन योजना ल्याउने तयारी थालेको छ । कम्पनीले आगामी केही महिनाभित्र विभिन्न देशहरूमा परीक्षणका रूपमा यो योजना कार्यान्वयनमा ल्याउने जनाएको हो ।

मेटाले हालै करिब दुई अर्ब डलरमा खरिद गरेको सिंगापुरस्थित एआई स्टार्टअप ‘म्यानस’ का आधुनिक एआई एजेन्टलाई यस प्रिमियम सेवाको मुख्य अङ्ग बनाउने तयारी गरेको छ ।

यी एआई एजेन्टहरूले न्यूनतम मानवीय सहयोगमै यात्राको योजना बनाउने, प्रिजेन्टेसन तयार पार्ने जस्ता जटिल कार्यहरू गर्न सक्नेछन् । यसबाहेक एआई भिडिओ टुलका एड्भान्स फिचर प्रयोग गर्न पनि प्रयोगकर्ताले शुल्क तिर्नुपर्ने हुन सक्छ ।

ह्वाट्सएपमा भने विज्ञापनरहित अनुभव प्रदान गर्न मासिक शुल्कमा आधारित मोडल ल्याइने मेटाले जनाएको छ । हालै एपको नयाँ संस्करणमा स्टाटस र च्यानल खण्डमा विज्ञापन देखिन थालेका छन्, जसलाई हटाउन सब्सक्रिप्सन अनिवार्य हुने देखिन्छ । यस्तै, फेसबुकमा निश्चित सङ्ख्याभन्दा बढी लिङ्क भएका पोस्ट सेयर गर्नका लागि पनि शुल्क लाग्ने व्यवस्था परीक्षणका रूपमा अमेरिका र बेलायतमा सुरु गरिएको छ ।

मेटाले यो नयाँ योजना मेटा भेरिफाइड भन्दा फरक तथा अतिरिक्त सेवा भएको स्पष्ट पारेको छ । ओपनएआई र गुगलजस्ता प्रतिस्पर्धीहरूसँगको एआई प्रतिस्पर्धामा अघि बढ्न मेटाले आफ्नो व्यापारिक मोडलमा ठूलो परिवर्तन गर्न लागेको बताइएको छ ।

यद्यपि, एपहरूका आधारभूत सेवाहरू भने यथावत रूपमा निःशुल्क नै रहने कम्पनीले स्पष्ट पारेको छ ।