काठमाडौं ।

नेपाली कांग्रेसले आगामी निर्वाचनमा पुरानै राजनीतिक दलसँग प्रतिस्पर्धा हुने जनाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेसका प्रवक्ता देवराज चालिसेले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनमा पुरानै पार्टीहरूसँग प्रतिस्पर्धा हुने बताएका हुन् ।

‘यो गम्भीर विषय पनि हो । मतदाताले भोट हालेर निर्धारण गर्ने कुरा पनि हो,’ चालिसेले भने, ‘तर पुरानै पार्टीहरूबीच प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ ।’

चालिसेले हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनपछि नयाँ नेतृत्व र संरचनासहित निर्वाचन अभियानलाई तीव्र बनाइएको जानकारी दिए ।

१६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिइएको उल्लेख गर्दै उनले भने, ‘पार्टीका नीति, योजना तथा कार्यक्रमलाई प्राथमिकतामा राख्दै जनतामा विश्वास र भरोसा स्थापित गर्ने प्रयास गरिनेछ ।’