काठमाडौँ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले साँझ पाँच बजेसम्म राष्ट्रिय सभा सदस्य निर्वाचनको एकमुष्ट नतिजा सार्वजनिक भइसक्ने बताउनुभएको छ ।

रिक्त १८ राष्ट्रिय सभा सदस्य पदका लागि सातै प्रदेशमा आइतबार बिहान ९ बजेदेखि मतदान भइरहेको छ । तीमध्ये कोशी प्रदेशको एक पदमा निर्विरोध निर्वाचन भइसकेको छ ।

‘राष्ट्रिय सभा सदस्य निर्वाचनको मतदान दिउँसो ३ बजेसम्म हुनेछ । त्यसपछि करिब दुई घण्टाभित्र अर्थात् साँझ ५ बजेसम्म नतिजा सार्वजनिक गरिनेछ,’ कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले बताउनुभयो । उहाँका अनुसार सबै प्रदेशमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ ।

प्रदेश सभा सदस्य तथा स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने यस निर्वाचनका लागि कोशी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर विराटनगर, मधेस प्रदेशमा महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र जनकपुर तथा बागमती प्रदेशमा भुटनदेवी माध्यमिक विद्यालय हेटौँडामा मतदान भइरहेको छ ।

त्यस्तै गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय कास्की (पोखरा), लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय परिसर वीरेन्द्रनगर (सुर्खेत) र सुदूरपश्चिम प्रदेशमा प्रदेश निर्वाचन कार्यालय धनगढीमा मतदान भइरहेको छ ।