काठमाडौँ ।

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फका उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सकिएसँगै दलहरू घोषणापत्र तयारीमा व्यस्त भएका छन्।

नेपाली कांग्रेसले यही माघ १० गते आफ्नो घोषणापत्र सार्वजनिक गर्ने जनाएको छ। कांग्रेसका महामन्त्री प्रदीप पौडेलले घोषणापत्रमा आर्थिक उन्नति र विकासका विषयसहित प्रधानमन्त्री पदका उम्मेदवारको नामसमेत उल्लेख हुने जानकारी दिए।

अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको दाबेदार प्रस्तुत गरेको नेकपा एमालेले यसपालि राष्ट्रिय स्वाभिमान, लोकतन्त्र र संविधान संशोधनलाई मुख्य मुद्दा बनाउने उपाध्यक्ष रामबहादुर थापा बादलले बताउनुभयो।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले सुशासन, समृद्धि र राष्ट्रिय स्वाधीनतालाई प्राथमिकतामा राखेर घोषणापत्र तयार गरिरहेको जनाएको छ। यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आर्थिक विषय र सुशासनलाई केन्द्रमा राखेर वाचापत्र ल्याउने जनाएको छ।

निजी क्षेत्रका प्रतिनिधिहरूले दलहरूलाई अर्थतन्त्रमा केन्द्रित भएर घोषणापत्र बनाउन आह्वान गरेका छन्।

निर्वाचन आयोगको नियमअनुसार, मतदानभन्दा १७ दिन अगाडिदेखि प्रचार प्रसार शुरू हुने र मतदानभन्दा ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुने भएकाले दलहरूले प्रचार प्रसारका लागि १५ दिन मात्र समय पाउने छन्।