काठमाडौँ ।
नेपाली कांग्रेसका नेता गगन थापा सभापति रहेको समूहले निर्वाचन आयोगमा २ हजार ६ सय ५२ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर बुझाएको दाबी गरेको छ ।

सो समूहका महामन्त्री गुरुराज घिमिरेले शुक्रबार सार्वजनिक गरेको धारणा अनुसार बिहीबार २ हजार ६ सय ५२ जना महाधिवेशन प्रतिनिधिको हस्ताक्षर निर्वाचन आयोगमा बुझाइएको हो ।

घिमिरेले सार्वजनिक गरेको धारणा पत्रमा विशेष महाधिवेशनको माग गर्दा कुल ४ हजार ६ सय ३५ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ४ सय ८८ जनाको हस्ताक्षर आवश्यक पर्ने उल्लेख छ, जुन कुल संख्याको ५४.५८ प्रतिशत हो ।
उनका अनुसार महाधिवेशनमा सहभागी प्रतिनिधि संख्या २ हजार ६ सय ५२ पुगेको छ, जुन कुल प्रतिनिधिको ५७.२१ प्रतिशत हो ।

महामन्त्री घिमिरेले विशेष महाधिवेशन आयोजना गर्न निवेदनमा हस्ताक्षर गरेका प्रतिनिधिमध्ये २९ जनाले मात्र हस्ताक्षर फिर्ता लिएको अभिलेख सचिवालयमा रहेको जानकारी पनि गराएका छन् ।