काठमाडौँ ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले रवि–बालेन समूह आगामी २० वर्षभित्र चुनाव जितेर बहुमत ल्याउन नसक्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौँमा आयोजित भूतपूर्व सैनिक तथा प्रहरी संगठनको स्थापना दिवस समारोहमा सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, “म सुन्छु, एमाले–कांग्रेसले चुनाव जित्ने भए चुनावै नगराउने अरे! फलानाले जित्ने भने मात्रै गराउने अरे! ती फलाना–फलानाले आउने २० वर्षभित्र चुनाव जित्ने वाला छैनन्।”

उनले अझै चुनाव वातावरण नबनेको र वातावरण बनेमा मात्र एमाले सहभागी हुने स्पष्ट पारे । अध्यक्ष ओलीले भने, “यदि चुनाव भयो भने सहभागी हुन्छौँ र जित्छौँ।”

ओलीले सेना परिचालनले मात्र शान्तिपूर्ण चुनाव नहुने पनि उल्लेख गरे। मतदानका क्रममा बाटोमै रोक्न सकिने अवस्था रहेकाले त्यस्तो परिस्थितिमा सेनाले केही गर्न नसक्ने बताए।