बुटवल। गोरुसिङ्गे सडकअन्तर्गतको राष्ट्रिय गौरव आयोजनामा आवश्यक नदीजन्य सामग्री र माटोको व्यवस्थापन चुनौतीका रूपमा देखिएको छ। बुटवलदेखि कपिलवस्तुको बेल नदीसम्म करिब ५० किलोमिटर सडक स्तरोन्नति भइरहेको उक्त आयोजनामा सामग्रीको सुनिश्चितताका लागि सम्बन्धित निकायहरूसँग समन्वय र पहल तीव्र बनाइएको आयोजनाले जनाएको छ।

आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ। आयोजनाका अनुसार आवश्यक नदीजन्य सामग्रीका लागि स्थानीय तहहरूसँग निरन्तर संवाद भइरहेको छ। हाल उपलब्ध स्रोतबाट सामग्री संकलन भइरहेको र थप स्रोत पहिचानका लागि प्रयास जारी रहेको छ।

पहिलो खण्डमा पूर्वाधार संरचना तीव्र

बुटवलदेखि रुपन्देहीको सैनामैना हुँदै कपिलवस्तुको कोठी नदीसम्मको पहिलो खण्डमा ८ लाख ७१ हजार घनमिटर नदीजन्य सामग्री आवश्यक पर्नेमा विभिन्न स्थानीय तहको सहकार्यमा केही मात्रामा सामग्री उपलब्ध भइसकेको आयोजनाले जनाएको छ।

यस खण्डमा २५ किलोमिटर सडकमा ६७ वटा बक्स कल्भर्टमध्ये ३७ वटाको काम अन्तिम चरणमा पुगेको छ भने १२ वटा ठूला पुलमध्ये अधिकांशमा पाइलिङ कार्य सम्पन्न भइसकेको छ। सामग्री व्यवस्थापन सहज हुँदै जाँदा निर्माण कार्यले थप गति लिने आयोजनाको विश्वास छ।

दोस्रो खण्डमा पनि काम निरन्तर

कोठी नदीदेखि बेल नदीसम्मको दोस्रो खण्डमा पनि माटो र नदीजन्य सामग्री संकलन भइरहेको छ। हालसम्म प्राप्त सामग्रीको आधारमा भौतिक तथा वित्तीय प्रगति अघि बढिरहेको र बाँकी आवश्यकताका लागि स्थानीय तहसँग पुनः समन्वय गरिने आयोजनाले जनाएको छ।

अनुगमन र व्यवस्थापनमा कडाइ

आयोजनाका लागि उठाइने नदीजन्य सामग्री आयोजना प्रयोजनमै प्रयोग हुनुपर्ने व्यवस्था अनुसार अनुगमनलाई थप प्रभावकारी बनाइएको आयोजनाले स्पष्ट पारेको छ। आयोजना मातहतका स्रोतबाट सामग्री बाहिर प्रयोग हुन नदिने व्यवस्था कडाइका साथ लागू गरिने आयोजनाले जनाएको छ।

विश्व बैंकको सहयोगमा करिब १३ अर्ब ५५ करोड रुपैयाँ लागतमा निर्माण भइरहेको यो आयोजना क्षेत्रीय विकास, यातायात सहजता र आर्थिक गतिविधि विस्तारका लागि महत्वपूर्ण मानिएको छ। सामग्री व्यवस्थापनमा देखिएका चुनौतीहरू सम्बन्धित निकायहरूको सहकार्य र समन्वयबाट समाधान हुँदै जाने आयोजनाको विश्वास छ।