काठमाडौं, १२ पुस

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग सहमति पत्रमा हस्ताक्षर गर्नुअघि बालेन र घिसिङबीच भेटवार्ता हुने भएको हो । बालेननिकट स्रोतका अनुसार उनी शनिबार गोदाबारीबाट निस्किएर सिधै कुलमान घिसिङलाई भेट्न निस्किएका हुन् ।

कुलमान घिसिङनिकट स्रोतले पनि बालेन र घिसिङबीच भेटवार्ता हुने पुष्टि गरेको छ । यसैबीच, शुक्रबार राति बालेन आफ्ना निकट व्यक्तिहरूसँग गोदाबारीमै रहेका थिए ।

सामाजिक सञ्जालमा रवि लामिछाने, बालेन शाह र कुलमान घिसिङबीच शुक्रबार राति नै भेट भएको चर्चा चले पनि बालेन भने शुक्रबार राति भूपदेव शाह, कुमार बेन, केपी खनाललगायतका व्यक्तिसँग गोदाबारीमै रहेको स्रोतको भनाइ छ ।