वाणगंगा । वाणगंगा नगरपालिका वडा नं। ७ मोतिपुर कपिलवस्तुको फुलवारी सामुदायिक वन उपभोक्ता समूहको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।


साधारणसभालाई सम्बोधन गर्दै प्रमुख अतिथि वडा न ७ का वडा अध्यक्ष विष्णु गिरीले फुलवारी सामुदायिक वनले स्थानीय विकासमा सहकार्य गर्दै सकारात्मक भूमिका खेलेकोमा धन्यवाद व्यक्त गर्नु हुँदै वन संरक्षण उपभोक्ताको साझा दायित्व भएको उल्लेख गर्नुभयो। उहाँले वनले हामीलाई के दियो भन्ने प्रश्न भन्दा पनि वनलाई हामीले के दियौँ भन्ने बुझाइ आवश्यक छ, । ” भन्दै वनले वातावरण संरक्षण, जीविकोपार्जन, जैविक विविधता र सामुदायिक समृद्धिमा ठूलो योगदान दिएको स्पष्ट पार्नुभयो।उहाँको भनाइले उपभोक्ताहरूलाई वनप्रतिको जिम्मेवारीबोध गराउँदै संरक्षण र दिगो उपयोगतर्फ अझ सचेत बन्न प्रेरित गरेको सहभागीहरूको भनाइ थियो।

साधारणसभाकै अवसरमा जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरूलाई खादा र मालाद्वारा सम्मान गरिएको थियो।साधारणसभामा वार्षिक प्रतिवेदन, आर्थिक विवरण र आगामी कार्ययोजना माथि छलफल समेत गरिएको थियो।

कार्यक्रममा फुलवारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष शेषकान्त बेल्वासेको अध्यक्षता,वैज्ञानिक महासंघका केन्द्रीय अध्यक्ष रेणु सेन, वडा सदस्य हरिशंकर पौडेलको विशिष्ट आतिथ्यता लगायत टोल विकास संस्था, विभिन्न संघ–संस्था तथा उपभोक्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

समुहको आर्थिक गतिविधीका बारेमा समुहकी कोषाध्यक्ष हुमा खाम्चाले आर्थिक बर्ष २०८१। ०८२ को आर्थिक प्रतिबेदन पेश गर्नु भएको थियो ।

कार्यक्रममा समूहका उपाध्यक्ष रामबहादुर बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । भने समूहकी सचिव शान्ता खनालको सचालनमा कार्यक्रम सम्पन्न भएको थियो।