कपिलवस्तु । नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित आँखा अस्पतालहरुको सामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बुधबार छन्द (कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको सभाहलमा भव्यताका साथ सम्पन्न भएको हो ।

कार्यक्रममा अस्पतालका प्रमुख प्रशासक डा. सम्शेर थापाले प्रस्तुतिकरण गर्दै उपलब्धि, भावी कार्यक्रम तथा रणनीतिबारे जानकारी गराउनुभयो । उहाँका अनुसार हालसम्म अस्पतालले ४२ लाख ६७ हजार ४०७ जनालाई ओपिडी सेवा प्रदान गरेको छ भने २ लाख ५८ हजार १४ जना मोतियाबिन्दुका बिरामीको उपचार गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कपिलवस्तुका प्रमुख बाबुराम आचार्यले नेपाल नेत्रज्योति संघले ग्रामीण तथा दुर्गम क्षेत्रसम्म आँखा उपचार सेवा पु¥याएर उदाहरणीय कार्य गर्दै आएको उल्लेख गर्नुभयो । सामाजिक परीक्षणजस्ता कार्यक्रमले सेवामा पारदर्शिता बढाउनुका साथै जनविश्वास अभिवृद्धि र सेवा सुधारमा सहयोग पुग्ने उहाँको भनाइ थियो ।

उहाँले कपिलवस्तुका १० वटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई यस आँखा अस्पतालमा लगानी गर्न आग्रह त्यसका लागि आवश्यक समन्वयकारी भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि कृष्णनगर नगरपालिकाका प्रमुख रजतप्रताप शाहले आँखा स्वास्थ्य सेवा मानव जीवनसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएको उल्लेख गर्दै स्थानीय तहले यस्ता संस्थासँग सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले सामाजिक परीक्षणले अस्पतालको सेवा, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। उहाँले आम नागरिकलाई सुलभ, गुणस्तरीय र विश्वासिलो आँखा स्वास्थ्य सेवा प्रदान गर्न अस्पतालहरू निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो।

साथै, अन्धोपन न्यूनीकरण अभियानमा नेपाल नेत्रज्योति संघको महत्वपूर्ण योगदान रहे पनि यस अन्तर्गतका अस्पतालका लागि नेपाल सरकारले वार्षिक रूपमा हालसम्म एक रुपैयाँ पनि बजेट विनियोजन नगरेको गुनासो गर्नुभयो ।

यसैगरी, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले गरिब, विपन्न तथा दृष्टिविहीनताको जोखिममा रहेका नागरिकलाई लक्षित गरी अस्पतालले पु¥याउँदै आएको सेवाको प्रशंसा गर्नुभयो। उहाँले शिवराज नगरपालिकाले यस अस्पतालसँग निरन्तर सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो ।

कार्यक्रममा बोल्ने अन्य वक्ताहरूले केही वर्षअघिसम्म आँखाको उपचारका लागि भैरहवा र काठमाडौं धाउनुपर्ने कपिलवस्तुवासीको बाध्यता छन्द (कालेबाबु) नारायणी आँखा अस्पतालको स्थापनासँगै अन्त्य भएको स्मरण गर्दै अस्पतालमा थप अत्याधुनिक उपकरण भित्र्याउन जिल्लाका १० वटै स्थानीय तहका जनप्रतिनिधि एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

उक्त सामाजिक परीक्षण कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि, चिकित्सक, कर्मचारी तथा स्थानीय नागरिकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।-waikhari