बाणगंगा । बाणगंगा नगरपालिका वडा नं. २ मा रहेको बैजलपुर सामुदायिक वन उपभोक्ता समूहले महिला उपभोक्ताहरूका लागि ६५ दिने सिलाइ–कटाई तालिम आजदेखि सुरु गरेको छ । बैजलपुर सामुदायिक वनको आर्थिक सहयोग तथा कोरिया नेपाल बहुप्राविधिक शिक्षालयको प्राविधिक सहयोगमा तालिम कार्यक्रमको उद्घाटन गरिएको हो ।सामुदायिक वनका अध्यक्ष सत्यनारायण थारुको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथि तथा पिपरा सामुदायिक वनका प्रमुख बाबुराम पोख्रेलले महिलालाई सीपमूलक तालिममार्फत आत्मनिर्भर बनाउने उद्देश्यले यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो ।

त्यसैगरी, विशिष्ट अतिथि तथा बाणगंगा वडा नं. २ का वडा सदस्य झिमलाल साप्कोटाले सामुदायिक वनले संरक्षणसँगै रोजगारी र आयआर्जनसँग जोडिएका कार्यक्रम सञ्चालन गर्नु सकारात्मक पहल भएको उल्लेख गर्नुभयो ।

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयका प्रमुख नविन किशोर गैरेले तालिममा सहभागीहरूलाई व्यवहारिक र बजारमुखी सीप प्रदान गरिने बताउँदै तालिमपश्चात आत्मरोजगारतर्फ उन्मुख हुन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा लेखा समिति संयोजक, प्रशिक्षक लगायतले पनि आ–आफ्ना भनाइ राख्नुभएको थियो । कार्यक्रम वनकी लेखापाल राधा भुसाल शर्माको स्वागत मन्तव्य तथा वनकी सचिव यशोदा पाण्डेको सञ्चालनमा सम्पन्न भएको थियो ।