बाणगंगा । बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक सम्पन्न भएको छ । नगरप्रमुख चक्रपाणी अर्यालको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ ।

बैठकले नगरभित्रका योजनाहरू सुचारु गर्ने निर्णय गरेको छ । साथै, पौष १६ गते वडा नम्बर ७ को वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ । त्यस्तै, अघिल्लो कार्यपालिका बैठकका निर्णयहरूको समीक्षा गर्ने निर्णय पनि बैठकले गरेको छ ।

बैठकका निर्णयअनुसार पौष २० गते वडा नम्बर ८ स्थित जनसेवा आधारभूत विद्यालयमा एकीकृत घुम्ती शिविर सञ्चालन गरिनेछ । यसैगरी, पौष २२ गते नगरपालिकाको सभाहलमा दोस्रो चौमासिक समीक्षा गोष्ठी आयोजना गर्ने तथा पौष २८ गते नगरपालिकाको आफ्नै प्रशासनिक भवनमा नगरसभा बस्ने निर्णय गरिएको छ ।

बैठकले बढ्दै गएको चिसो र शीतलहरलाई मध्यनजर गर्दै नगरवासीहरूलाई आवश्यक सावधानी अपनाउन अनुरोध गर्ने निर्णय समेत गरेको छ । यसका साथै, सामुदायिक तथा साझेदारी वन उपभोक्ता समूहहरूलाई आफ्ना पायक पर्ने बस्तीहरूमा काठ–दाउरा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय पनि गरिएको छ ।

त्यसैगरी, बैठकले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट प्रक्षेपण समेत गरेको छ ।बैठकमा उपप्रमुख, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा विषयगत शाखाका प्रमुखहरूको उपस्थिति रहेको थियो । बैठकको सञ्चालन प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले गर्नुभएको थियो ।