कपिलवस्तु । कपिलवस्तुमा पत्रकार आचारसंहिता सम्बन्धी जागरण कार्यक्रम सम्पन्न भएको छ । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ कपिलवस्तुको संयोजनमा आयोजित कार्यक्रममा जिल्लामा क्रियाशील सञ्चारकर्मीलाई पत्रकार आचारसंहिता, त्यसको कार्यान्वयन र जिम्मेवारीबारे जानकारी गराइएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रेस काउन्सिल नेपालका केन्द्रीय अध्यक्ष डा। कुमार शर्मा आचार्यले प्रेस काउन्सिलले पत्रकारिता क्षेत्रलाई सही दिशामा अघि बढाउन सदैव आवश्यक सुझाव र सल्लाह दिँदै आएको बताउनुभयो ।

आफूले लेख्ने समाचार आफ्नै विषयमा प्रकाशित भए कस्तो अनुभूति हुन्छ भन्ने मर्म बुझेर विवेकपूर्ण ढंगले समाचार लेख्न सके आचारसंहिता स्वतः पालना हुने उहाँको भनाइ थियो ।

अध्यक्ष आचार्यले पत्रकारले आचारसंहिता पालना गरे कानुनी रूपमा प्रेस काउन्सिल नेपालले संरक्षण र सुरक्षा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । समाचार प्रकाशन तथा प्रसारणपछि त्यसको सम्पूर्ण जिम्मेवारी पत्रकार स्वयंको हुने उल्लेख गर्दै उहाँले सञ्चार माध्यमले हाल भोगिरहेको आर्थिक संकट समाधानका लागि मिडिया मर्जरको अवधारणा अघि सार्ने योजना रहेको उल्लेख गर्नुभयो ।

प्रेस काउन्सिलका सदस्य सन्तराम बिडारीले काउन्सिललाई थप व्यवस्थित बनाउँदै लगिएको र प्राप्त उजुरीहरूको समयमै सुनुवाइ तथा सम्बोधन भइरहेको बताउनुभयो । पत्रकारले आफ्नो मूल धर्म र कर्तव्यको पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका संस्थापक अध्यक्ष नारायण पौडेल, बुद्ध आवाजका लक्ष्मण बेल्बासे, बुद्धदर्पण राष्ट्रिय दैनिककी पार्वती पाण्डेलगायत वक्ताहरूले पत्रकारितालाई थप मर्यादित, जिम्मेवार र व्यवस्थित बनाउँदै लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो । सो क्रममा उहाँहरुले मिडिया, अनलाइन पत्रकारिता तथा पत्रकारहरूको वर्तमान अवस्था र चुनौतीबारे धारणा राख्नुभएको थियो ।

प्रेस काउन्सिलका सूचना अधिकारी तथा सह–प्रशासकीय अधिकृत रामशरण बोहोराले पत्रकार आचारसंहिता तथा निर्देशिकाबारे विस्तृत प्रस्तुतीकरण दिनुभएको थियो । उहाँले पत्रकारले गर्न हुने र नहुने कार्यबारे स्पष्ट पार्दै आचारसंहिता उल्लङ्घन नगर्न आग्रह गर्नुभयो । साथै प्रेस स्वतन्त्रताको संरक्षण र संवर्द्धन गर्दै मानव अधिकार, अन्तर्राष्ट्रिय सम्बन्ध र सूचित हुने हकको सम्मान अनिवार्य रहेकोमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष खगप्रसाद चापागाईंले स्वागत मन्तव्य राख्नुभएको थियो भने सचिव सनि उल्ला धोबीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।

शाखाका उपाध्यक्ष खगप्रसाद चापाईंको स्वागत मन्तव्य तथा सचिव सनी उल्लाह धोवीको सहजीकरणमा सम्पन्न कार्यक्रममा जिल्लाभरिका सक्रिय पत्रकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।