कपिलवस्तु । नेकपा (एमाले) को ११औँ महाधिवेशनबाट कपिलवस्तु जिल्लाको प्रतिनिधित्व गर्दै तीन जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्।

पूर्व मन्त्री बलराम अधिकारी, पूर्व लुम्बिनी प्रदेश सभा सदस्य गिरिधारिलाल न्यौपाने र शिवराज नगरपालिका उप–प्रमुख शिवकुमारी थारु केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

खुल्ला तर्फ उम्मेदवारी दिएका पूर्व मन्त्री बलराम अधिकारीले १ हजार १२२ मत प्राप्त गर्दै विजय हासिल गरेका छन्। त्यस्तै खुल्ला तर्फकै उम्मेदवार पूर्व प्रदेश सांसद गिरिधारिलाल न्यौपानेले १ हजार ३४ मत ल्याउँदै केन्द्रीय सदस्यमा निर्वाचित भए।

महिला खुल्ला तर्फबाट उम्मेदवार बनेकी शिवराज नगरपालिका उप–प्रमुख शिवकुमारी थारुले १ हजार ९०९ मत प्राप्त गरी प्रभावशाली मतसहित विजय हासिल गरिन्।

तीनै नेताको केन्द्रीय कमिटीमा प्रवेशसँगै कपिलवस्तुको राजनीतिक प्रतिनिधित्व थप मजबुत हुने अपेक्षा गरिएको छ। निर्वाचित नेताहरूलाई जिल्लावासी, पार्टी कार्यकर्ता तथा शुभेच्छुकहरूले बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।