बाणगंगा । बाणगंगा नगरपालिका–१, बैरियामा ‘हुक्का हव’ सञ्चालनमा आएको छ। वैदेशिक रोजगारीबाट फर्किएपछि नेपालमै केही गर्न सकिन्छ भन्ने सन्देशसहित युवा व्यवसायी किरण पन्थीले उक्त व्यवसाय सुरु गर्नुभएको हो।

विदेशमा केही समय काम गरेपछि स्वदेश फर्किएका पन्थीले आफ्नै ठाउँमा स्वरोजगार सिर्जना गर्ने उद्देश्यले व्यवसाय सञ्चालनमा ल्याएको बताउनुभयो। ‘विदेश जानु मात्र सफलता होइन, नेपालमै पनि योजना, लगानी र मेहनत गरे अवसर सिर्जना गर्न सकिन्छ,’ उहाँले भन्नुभयो।

स्थानीय युवालाई लक्षित गरी फरक स्वाद, सेवा र आधुनिक वातावरणसहित ‘हुक्का हव’ सञ्चालन गरिएको पन्थीको भनाइ छ। व्यवसाय सञ्चालनसँगै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा स्थानीय युवालाई रोजगारीसमेत उपलब्ध गराइएको उहाँले जानकारी दिनुभयो।

हुक्का सम्बन्धी व्यवसाय भएकाले स्थानीय तहबाट आवश्यक अनुमति लिई कानुनी मापदण्डअनुसार सञ्चालन गरिएको सञ्चालक पन्थीले बताउनुभयो। साथै, १८ वर्षमुनिका व्यक्तिलाई सेवा नदिइने, स्वास्थ्यसम्बन्धी चेतनामूलक जानकारी प्रदान गरिने तथा नियम पालना गरिने उहाँको भनाइ छ।

स्थानीयस्तरमा नयाँ खालको व्यवसाय सुरु हुँदा युवाहरू उत्साहित भएका छन्। यसले बाणगंगाको स्थानीय अर्थतन्त्र र उद्यमशीलतामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।