काठमाडौँ ।

आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनको दिन सवारी आवागमनमा रोक नलगाउने गरी निर्वाचन आयोग तयारीमा जुटेको छ ।

मंगलबार आयोगमा आयोजित छलफलमा बोल्दै निर्वाचन आयुक्त सगुन शमशेर जबराले यस्तो जानकारी दिएका छन् । उनले विगतका निर्वाचनहरूमा दलहरूले अनावश्यक व्यक्ति ओसारपोसार गर्ने आशंकाका कारण सवारी आवागमनमा रोक लगाइन्थ्यो, तर यो पटक यातायात बन्द नगरिकनै निर्वाचनको तयारीमा आयोग जुटेको बताए ।

विश्वका कतिपय मुलुकमा यातायात बन्द नगरी निर्वाचन हुने अभ्यास रहेको भन्दै नेपालमा पनि सोहीअनुसार अघि बढ्ने तयारी भइरहेको उनको तर्क छ ।

उनले भने, “हामी सकेसम्म यस पटक निर्वाचनको दिन पनि सवारी आवागमनमा रोक नलगाउने पक्षमा छौँ । नचाहिने मान्छे ओसारपोसार गर्छन् भनेर विगतमा रोक लगाइन्थ्यो । तर संसारका अन्य मुलुकमा यातायात बन्द गरेर निर्वाचन हुँदैन । यहाँ त्यसैगरि लागू हुँदैन । स्थानीय तहमा राजनीतिक दल र उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्याउने व्यवस्था मिलाउन सक्छन्, तर निर्वाचन आयोगले बस सञ्चालन गरेर अपांगता भएका व्यक्तिहरूलाई सेवा दिनसक्ने अवस्था छैन ।”

उनले स्पष्ट पारे कि स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारहरूले मतदातालाई मतदानस्थलसम्म पुर्याउन सक्ने भए पनि आयोग आफैंले बस सञ्चालन गरी अपांगता भएका लगायतका व्यक्तिलाई सेवा दिन सक्ने अवस्था छैन ।