कपिलवस्तु । कपिलवस्तु जेसीजले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) भव्य रूपमा मनाएको छ । सोमबार बाणगंगा नगरपालिका–४ ठाकुरापुरमा विशेष समारोहको आयोजना गर्दै कपिलवस्तु जेसीजले २५ वर्षे गौरवपूर्ण यात्रा उत्सवका रूपमा सम्पन्न गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर रजनी थापाले जेसीज युवाहरूको सर्वाङ्गीण विकासमा केन्द्रित संस्था भएको बताउनुभयो । उहाँले जेसीजले विश्वबन्धुत्वको भावना विकास गर्दै युवाहरूमा नेतृत्व क्षमता, सकारात्मक सोच र जिम्मेवार नागरिक बन्ने सिप विकास गरिरहेको उल्लेख गर्नुभयो । “जेसीज केवल संस्था मात्र होइन, सक्षम र नैतिक नेतृत्व निर्माण गर्ने विद्यालय हो,” उहाँले भन्नुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेपाल जेसीजका पूर्वराष्ट्रिय अध्यक्ष सिनेटर महेश दाहालले कपिलवस्तु जेसीजले विगत २५ वर्षदेखि समाज रूपान्तरणमा खेलेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले जेसीजमार्फत युवाहरू सामाजिक उत्तरदायित्वप्रति सचेत हुँदै नेतृत्वको अभ्यास गर्न पाएको उल्लेख गर्नुभयो ।

बाणगंगा नगरपालिकाकी उपप्रमुख रिता कुमार चौधरीले स्थानीय तह र युवासँग काम गर्ने संस्थाबीच सहकार्य आवश्यक रहेको बताउँदै कपिलवस्तु जेसीजले शिक्षा, स्वास्थ्य तथा सामाजिक सचेतनाका क्षेत्रमा पुर्‍याएको योगदान सराहनीय रहेको धारणा राख्नुभयो ।

कपिलवस्तु जेसीज वर्ष २०२५ का अध्यक्ष जनक प्रसाद बेल्वासेले संस्थाको २५ वर्षे यात्रामा योगदान पुर्‍याउने सम्पूर्ण पूर्वअध्यक्ष, सदस्य तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्नुभयो । उहाँले आगामी दिनमा युवाको क्षमता अभिवृद्धि, नेतृत्व विकास तथा समाजसेवामुखी कार्यक्रमहरूलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष कमल मल्ल, कार्यक्रम निर्देशक उमानाथ पौडेल, कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेशबहादुर क्षेत्रीलगायत वक्ताहरूले जेसीजको भूमिकालाई प्रशंसनीय बताउँदै कपिलवस्तु जेसीजले सयौँ कुशल नेतृत्व उत्पादन गर्न सफल भएको उल्लेख गर्नुभयो ।

महासचिव मिनबहादुर थापा तथा कपिलवस्तु जेसीज वर्ष २०२३ का अध्यक्ष अमृत घिमिरेको सञ्चालनमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक खिमानन्द घिमिरेले स्वागत मन्तव्य राख्नुभएको थियो । रजत जयन्ती समारोहका अवसरमा संस्थाका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गर्नुका साथै सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरिएको थियो ।

यसै अवसरमा कपिलवस्तु जेसीज वर्ष २०२५ का अध्यक्ष जनकराज बेल्वासेकी धर्मपत्नी राधा पाण्डेको मुक्तकसंग्रह ‘आयाम’ को समेत विमोचन गरिएको छ । एक दशकभन्दा बढी समयदेखि शिक्षण पेसासँगै पत्रकारिता क्षेत्रमा क्रियाशील रहँदै आउनुभएकी पाण्डेको कृतिलाई साहित्यिक वृत्तमा सकारात्मक रूपमा लिइएको छ ।