बाणगंगा । बुद्ध सामुदायिक वन उपभोक्ता समूहको २२औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। विन्दराज यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा बाणगंगा नगरपालिका वडा नं. १० का वडा अध्यक्ष यमप्रसाद पोख्रेल प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पोख्रेलले सामुदायिक वनले वातावरण संरक्षणसँगै स्थानीयको आर्थिक तथा सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो। उहाँले वन संरक्षण, दिगो उपयोग र पारदर्शी व्यवस्थापनमा सबै उपभोक्ताहरूको साझा जिम्मेवारी रहेको बताउनुभयो।

साधारण सभामा सब–डिभिजन वन कार्यालय पटनाका रेन्जर, प्रहरी चौकीका प्रमुख लगायत विभिन्न सरोकारवालाको उपस्थिति रहेको थियो। कार्यक्रममा समूहका कोषाध्यक्ष रामप्रकाश थारुले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने सचिव चन्द्रकला के.शी.ले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो।

साधारण सभाको अवसरमा समूहद्वारा अति विपन्न परिवारहरूलाई खाद्यान्न सामग्री वितरण गरिएको थियो, जसले सामाजिक उत्तरदायित्वप्रति समूहको प्रतिबद्धता झल्काएको सहभागीहरूले बताएका छन्।

कार्यक्रमको अध्यक्षता गर्नुभएका अध्यक्ष विन्दराज यादवले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि करिब ७७ लाख रुपैयाँको आम्दानी–खर्च अनुमान प्रस्तुत गर्दै योजनाबद्ध रूपमा वन व्यवस्थापन र समुदायमुखी कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।