कपिलवस्तु । १६औँ कपिलवस्तु महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को अवसरमा स्थानीय स्वादसँगै मानवीय सेवा भन्ने नाराका साथ निःशुल्क खाजा वितरण कार्यक्रम सम्पन्न भएको छ।होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा सम्पन्न कार्यक्रममा महोत्सव अवलोकनमा आएका ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहाय वर्गलाई निःशुल्क खाजा वितरण गरिएको हो। साथै कार्यक्रममा स्थानीय तथा मौलिक खानाका परिकारहरूको प्रदर्शनीसमेत गरिएको थियो।

कार्यक्रमका प्रमुख अतिथि बाणगंगा नगरपालिकाकी नगर उप–प्रमुख रिता कुमारी चौधरीले यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश फैलाउने बताउँदै पर्यटन, सेवा र सामाजिक उत्तरदायित्वलाई एउटै सूत्रमा बाँध्न सकिने उल्लेख गर्नुभयो। उहाँले स्थानीय उत्पादन र सेवाको प्रवर्द्धनमार्फत समुदायको समग्र विकास सम्भव हुने धारणा राख्नुभयो।

त्यसैगरी पर्यटन विज्ञ पोमनारायण पौडेलले स्थानीय खानालाई पर्यटनसँग जोडेर अघि बढाउन सके कपिलवस्तु आन्तरिक तथा बाह्य पर्यटकको आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले स्थानीय पहिचान स्थापित गर्न र पर्यटन अर्थतन्त्र मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो।

कार्यक्रमबारे जानकारी दिँदै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले स्वाद मात्र होइन, सेवामार्फत समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले भन्नुभयो,
“पर्यटन व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै स्थानीय खानाको प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो। यस्ता कार्यक्रमले कपिलवस्तुको पर्यटन पहिचानलाई थप मजबुत बनाउने विश्वास लिएका छौँ।”

अध्यक्ष पौडेलका अनुसार निःशुल्क खाजा वितरण कार्यक्रमले मानवीय सेवासँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बाणगंगा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजकुमार तिवारी, जिल्ला समन्वय समिति सदस्य सुमित्रा परियार, राष्ट्रिय ज्येष्ठ नागरिक समाजका केन्द्रीय उपाध्यक्ष राम पौडेल, बाणगंगा नगर प्रज्ञा प्रतिष्ठानका संयोजक बालाराम ज्ञवाली, बाणगंगा नगरपालिका म हिला तथा बालबालिका शाखा प्रमुख शुशिला पन्त, १६औँ कपिलवस्तु महोत्सवका संयोजक राजकुमार खाँड, निर्देशक दिनेश क्षेत्री लगायतले आ आफ्नो धारण राख्नुभएको थियो।

साथै ज्येष्ठ नागरिक, पत्रकार, स्वयंसेवक तथा स्थानीय व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको कार्यक्रममा महोत्सव स्थल बुद्ध रंगशालामा उपस्थित दर्शक तथा सहभागीहरूले सकारात्मक प्रतिक्रिया व्यक्त गरेको आयोजकले जनाएको छ।