कपिलवस्तु । १६औँ कपिलवस्तु महोत्सव, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी–२०८२ को अवसरमा स्थानीय स्वादसँगै मानवीय सेवा भन्ने नाराका साथ निःशुल्क खाजा वितरण कार्यक्रम आज आयोजना हुँदै छ।

होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुको आयोजनामा हुने कार्यक्रममा महोत्सव अवलोकनमा आउने सर्वसाधारण, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असहाय वर्गलाई निःशुल्क खाजा वितरण गरिने छ। साथै कार्यक्रममा स्थानीय तथा मौलिक खानाका परिकारहरूको प्रदर्शनीसमेत गरिनेछ।

कार्यक्रमबारे जानकारी दिँदै होटल तथा पर्यटन व्यवसायी संघ कपिलवस्तुका अध्यक्ष रविन्द्र पौडेलले स्वाद मात्र होइन, सेवामार्फत समाजप्रति उत्तरदायी बन्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो। उहाँले भन्नुभयो,
“पर्यटन व्यवसायलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै स्थानीय खानाको प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो। यसले कपिलवस्तुको पर्यटन पहिचानलाई थप सशक्त बनाउने विश्वास गरेका छौँ।”

अध्यक्ष पौडेलका अनुसार निःशुल्क खाजा वितरण कार्यक्रमले मानवीय सेवासँगै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। कार्यक्रममा विभिन्न संघसंस्था, स्वयंसेवक तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहनेछ।

कार्यक्रम आज महोत्सव स्थल बुद्ध रंगशाला, कपिलवस्तुमा दिउँसो १२ बजेदेखि ३ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।