काठमाडौँ ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो ।

एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको छ । उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख नेता तथा कार्यकर्ता सहभागी हुने अपेक्षा गरिएको छ । उद्घाटन समारोहमा नेपालको राष्ट्रिय एकताको प्रतीक झल्किने २०० भन्दा बढी कला, संस्कृति र झाँकी प्रदर्शन गरिने तयारी गरिएको छ ।

उद्घाटन समारोहमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत १६ वटा राजनीतिक दलका अध्यक्ष तथा प्रतिनिधिलाई निमन्त्रणा गरिएको छ ।

महाधिवेशन जनपरिचालनका सञ्चालक तथा एमाले स्थायी कमिटी सदस्य डा. राजन भट्टराईका अनुसार भ्रातृत्व र मैत्रीपूर्ण कूटनीतिक सम्बन्ध रहेका विभिन्न देशका कूटनीतिक नियोग तथा राजनीतिक दलका प्रतिनिधिबाट शुभकामना सन्देश प्राप्त भइरहेको छ ।

महाधिवेशनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न पार्टीका २४ वटा जनसङ्गठनको प्रतिनिधित्व रहने गरी ५०० भन्दा बढी स्वयंसेवक ड्रेसकोडसहित खटाइनेछन् । साथै, जनसेवा र व्यवस्थापनलाई प्रभावकारी बनाउन १० हजार तालिमप्राप्त स्वयंसेवक परिचालन गरिने तयारी गरिएको छ ।

एमालेले लिच्छविकालमा राजा हरिदत्तले स्थापना गरेको चाँगुनारायणको ऐतिहासिक मन्दिरलाई मुख्य स्वरूपमा राखी उपत्यकाका विभिन्न महत्वपूर्ण मन्दिरहरू एकै स्थानमा देखिने गरी आकर्षक र कलात्मक मञ्च निर्माण गरेको जनाएको छ ।

मञ्चको दायाँ र बायाँ ३० फिट अग्ला दुईवटा एलइडी स्क्रिन जडान गरिएको छ । जसबाट टाढासम्म रहेका सहभागीले पनि वक्ताको दृश्य स्पष्ट रूपमा देख्न सक्नेछन् । तीन किलोमिटरसम्म आवाज पुग्ने क्षमताका ११५ वटा उच्च गुणस्तरका साउन्ड सिस्टम जडान गरिएको छ । मञ्च अगाडि देशभरबाट आएका नेता, मन्त्री, सांसद तथा विभिन्न कूटनीतिक नियोगका प्रतिनिधिका लागि २५ हजार कुर्सीको व्यवस्था गरिएको छ ।

महाधिवेशन स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटन समारोहमा कलाकारहरूले मञ्चमै राष्ट्रिय एकता झल्किने सांगीतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।

महाधिवेशन उद्घाटनका क्रममा मञ्चमा निर्माण गरिएको चाँगुनारायण मन्दिरको छेउमा राखिएको विद्युतीय पालालाई रिमोटमार्फत बालेर पार्टी अध्यक्ष केपी शर्मा ओलीले औपचारिक उद्घाटन गर्ने तयारी गरिएको छ । पार्टीको ११औँ महाधिवेशन भएकाले ११ वटा पार्टी झन्डा राखिनेछन् । तीमध्ये १० वटा झन्डा सुरुमै फहराइने र एउटा झन्डा रिमोटमार्फत फहराइने व्यवस्था गरिएको छ ।

उद्घाटन सत्रमा सहभागी विभिन्न जिल्लाबाट आउने सवारी साधनका लागि कोटेश्वरदेखि गट्ठाघरसम्म सवारी आवागमन खुला गरिनेछ । गट्ठाघरस्थित नागरिक उड्डयन प्राधिकरणको खाली चौर तथा काभ्रे हुँदै आउने सवारीका लागि जगातीस्थित भाइरल प्लानिङ क्षेत्रमा पार्किङको व्यवस्था गरिएको छ । उद्घाटनअघि गट्ठाघर र जगातीबाट भव्य र्‍यालीसहित सहभागी हुने कार्यक्रमसमेत तय गरिएको छ ।