वाणगंगा । वागेश्वरी सामुदायिक वन उपभोक्ता समूह वाणगंगा नगरपालिका–५, ६ र ११ कपिलवस्तुको १६औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि उप–प्रमुख रिता कुमारी चौधरीले वगेश्वरी सामुदायिक वनले विगत वर्षहरूमा हासिल गरेको उपलब्धि र संरक्षण गतिविधिको उच्च प्रशंसा गरिन्। उनले वन संरक्षणलाई केवल स्थानीय जिम्मेवारी नभई भविष्यको पुस्ताप्रति प्रदान गरिएको अमूल्य उपहारको रूपमा व्याख्या गर्दै समुदायको निरन्तर सक्रियता नै यो सफलताको मुख्य आधार भएको बताइन्।

उनले भनिन्— “वगेश्वरी सामुदायिक वनले देखाएको हरियो–भरिलो बन क्षेत्र, संरक्षणप्रतिको प्रतिबद्धता र समुदायको एकतापूर्ण प्रयासले यो वन प्रदेशमै नमूना बन्न सफल भएको छ। केवल काठ–दाउरा संकलन होइन, जैविक विविधता जोगाउनेदेखि वातावरणीय संवेदनशीलता बढाउनसम्म समूहले प्रशंसनीय काम गरेको छ।”

उप–प्रमुख चौधरीले सामुदायिक वनहरू स्थानीय विकास, विपद् न्यूनीकरण, वातावरणीय सन्तुलन, जीविको पार्जन र सामाजिक उत्थानमा अत्यन्त महत्त्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै आगामी दिनमा वन संरक्षणका कार्यक्रमलाई अझ सुदृढ बनाउन नगरपालिकाको तर्फबाट निरन्तर सहकार्य रहने प्रतिवद्धता जनाइन्।
साधारणसभामा वक्ताहरूले वगेश्वरी सामुदायिक वनले विगत वर्षहरूमा संरक्षित क्षेत्र विस्तार, वन पैदावार व्यवस्थापन, घाँस–दाउरा वितरण प्रणाली, दिगो वन व्यवस्थापन, वनभित्रको जैविक विविधताको सुरक्षा तथा समुदायमुखी सामाजिक कार्यक्रममार्फत उत्कृष्ठ प्रगति गरेको उल्लेख गरे।

वनका सल्लाहकार तथा सहभागीहरूले स्थानीय समुदाय, युवा, महिलाहरूको सक्रियता र नेतृत्व क्षमताले वन संरक्षणलाई नयाँ उचाइमा पुर्‍याएको भन्दै निरन्तर निरन्तरता र थप योजनाबद्धता जरुरी रहेको धारणा राखे।

समूहका अध्यक्ष लेमबहादुर गुरुङको अध्यक्षतामा आयोजित कार्यक्रममा वाणगंगा नगरपालिकाकी उप–प्रमुख रिता कुमारी चौधरी प्रमुख आतिथ्यता वाणगंगा नगरपालिका वडा नं .५ का अध्यक्ष दुनिका प्रसाद भुषाल, डिभिजन बन कार्यालय कपिलवस्तुका सहायक कार्यालय प्रमुख तथा वरिष्ठ बन अधिकृत मदन ढुङ्गाना, सव–डिभिजन बन कार्यालय मोतिपुरका वरिष्ठ बन अधिकृत एजाज अहमद अन्सारी, सामुदायिक वन उपभोक्ता महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष हुमनाथ भट्टराई, जिल्ला महासंघका अध्यक्ष जयलाल गिरी, सामुदायिक रेडियो वाणगंगाका स्टेशन म्यानेजर गणेश पोख्रेल, लक्ष्मणघाट सामुदायिक वनका अध्यक्ष खड्क बहादुर थापा लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधि, समाजसेवी, बुद्धिजीवी तथा बनका सल्लाहकारहरूको आतिथ्यता रहेको थियो।

कार्यक्रममा स्वागत मन्तव्य उप–अध्यक्ष पवित्रा बेल्वासेले प्रस्तुत गरिन् भने आर्थिक प्रतिवेदन गिरीराज न्यौपानेले प्रस्तुत गरेका थिए । समूहको आगामी कार्ययोजना अध्यक्ष लेमबहादुर गुरुङले प्रस्तुत गरेका थिए। भने कार्यक्रम सञ्चालन समूहकी सचिव निर्मला चौधरीले गरेकी थिइन्। विविध प्रस्तुति, प्रतिवेदन, छलफल तथा भावी योजना पारित गर्दै १६औँ वार्षिक साधारणसभा सफलतापूर्वक सम्पन्न भएको समूहले जनाएको छ।