कपिलवस्तु ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा प्रहरीले जिल्लाका १३ विद्यालयलाई सचेतना सामग्री हस्तान्तरण गरेको छ । ‘प्रविधिको सही प्रयोग गरौँ, लैङ्गिक हिंसा अन्त्य गरौँ । लैङ्गिक हिंसारहित प्रविधि, सुरक्षा र न्यायको विधि’ भन्ने नारासहित जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले तौलिहवामा आयोजित सचेतनामूलक कार्यक्रममा विद्यालयहरूलाई सचेतनामूलक फ्लेक्स बोर्ड प्रदान गरिएको हो ।

प्रविधिको दुरुपयोगका कारण बढ्दै गएको लैङ्गिक तथा घरेलु हिंसा न्यूनीकरण गर्न विद्यार्थी लक्षित कानुनी सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेल, प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, प्रहरी उपरीक्षक सन्तोष आचार्य र गैरसरकारी संस्था महासंघ लुम्बिनी प्रदेश प्रमुख सुशीला बेल्बासेले विद्यालयका प्रतिनिधिलाई सामग्री हस्तान्तरण गरेका हुन् ।

कार्यक्रमअघि जिल्लाका सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाले गौढीचोकबाट आन्दोलनचोकसम्म प्लेकार्ड र ब्यानरसहित र्‍याली निकालेका थिए । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा नगरका १२ वटै वडा समेटेर १३ वटा सामुदायिक तथा सरकारी विद्यालयलाई फ्लेक्स बोर्ड र सचेतनामूलक स्टिकर हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिए ।

कार्यक्रममा प्रहरी उपरीक्षक आचार्यले लैङ्गिक हिंसाका घटनामा करिब ९२ प्रतिशत घटनामा परिचित व्यक्तिहरू नै संलग्न हुने गरेको तथ्याङ्क प्रस्तुत गरे । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्याङ्कअनुसार कुल हिंसामध्ये २९ प्रतिशत लैङ्गिक हिंसा रहेका छन् भने तीमध्ये ८१ प्रतिशत घरेलु हिंसा रहेका छन् ।