लुम्बिनी ।

मन्त्रिपरिषद्ले गरेको निर्णय तत्कालीन मुख्य सचिव एकनारायण अर्यालले प्रमाणीकरण नगरेपछि ढिलो नियुक्ति पाएका लुम्बिनी विकास कोषका सदस्य सचिव इन्जिनियर दीपक श्रेष्ठले बुधबार पदभार ग्रहण गरेका छन् ।

श्रेष्ठले लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालयमा हाजिरी गर्दै औपचारिक रूपमा पदभार सम्हालेका हुन् । तत्कालीन मुख्य सचिव अर्यालले मन्त्रिपरिषद्को निर्णय प्रमाणीकरण नगरेपछि कानुनी मान्यता नपाएका कारण मंसिर १५ गते बसेको मन्त्रिपरिषद् बैठकले पुनः श्रेष्ठलाई मनोनीत गर्ने निर्णय गरेको थियो । त्यसअनुसार पत्र लिएर आएका उनले बुधबार पदभार ग्रहण गरेका हुन् ।

श्रेष्ठलाई गत मंसिर ४ गतेकै क्याबिनेट बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । उनी खानेपानी संस्थामा करिब डेढ दशक सहायक प्रबन्धकको जिम्मेवारी सम्हालिसकेका पूर्व कर्मचारी हुन् । त्यहीँबाट राजीनामा दिएर उनले सदस्य सचिव पद सम्हालेका हुन् ।

पदभार ग्रहणपछि श्रेष्ठले लुम्बिनीलाई उत्कृष्ट आध्यात्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा प्रवर्द्धन गर्ने लक्ष्यसहित काम अघि बढाउने प्रतिबद्धता जनाए ।

‘लामो समयदेखि अधुरो रहेको लुम्बिनी विकास गुरुयोजना पूरा गर्ने तर्फ ध्यान केन्द्रित गर्छु,’ उनले भने, ‘स्थानीयको भावना र चाहनालाई प्राथमिकतामा राखेर अघि बढ्छु ।’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले ०७७ असोज २२ मा नियुक्त गरेका सदस्य सचिव सानुराजा शाक्यको पाँच वर्षे कार्यकाल गत असोज २१ मा सकिएपछि कोष सदस्य सचिव पद रिक्त थियो ।