काठमाडौँ ।

त्रिभुवन विश्वविद्यालयको सभा आज प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा बस्दैछ ।

आजको बैठकमा त्रिविको नीति तथा कार्यक्रम पेस गरिने भएको छ । गत २६ असारमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नीति तथा कार्यक्रम रोकिएको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले नीति तथा कार्यक्रम प्रस्तुत नगरी बजेट मात्र अघि बढाउन भनेका थिए । त्यसपछि रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजालले २८ अर्ब १२ करोड ५७ लाख २१ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

तर यसपटक नीति तथा कार्यक्रम समेत पेस गरिने त्रिवि उपकुलपति दीपक अर्यालले जानकारी दिए । “आज नीति तथा कार्यक्रम सभामा पेस हुन्छ,” उपकुलपति अर्यालले भने ।

सभा बिहान ११ बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री बनेपछि कार्कीले पहिलो पटक त्रिविको सभाको अध्यक्षता गर्न लागेकी हुन् ।