काठमाडौँ ।

मधेस प्रदेश सभाका पाँच जना सांसदलाई पदमुक्त गर्ने सभामुख रामचन्द्र मण्डलको निर्णय उपसभामुख बबिता कुमारी राउतले बदर गरेकी छन् ।

प्रदेश सभामा आफूमाथि महाभियोगको प्रस्ताव दर्ता भएपछि सभामुख मण्डलले बिहीबार लगातार १० बैठकसम्म अनुपस्थित रहेकाले जनताको समाजवादी पार्टी (जसपा) का चार र नागरिक उन्मुक्ति पार्टीका एक सांसदलाई पदमुक्त गरेको सूचना जारी गरेका थिए ।

तर सो निर्णय बाहिरिएलगत्तै उपसभामुख राउतले अर्को सूचना जारी गर्दै सभामुख स्वयंमाथि महाभियोग दर्ता भइसकेको अवस्थामा उनको पद रिक्त मानिने दाबी गर्दै मण्डलको निर्णय बदर गरिदिएको उल्लेख गरेकी छन् ।

सभामुख मण्डल एमालेबाट निर्वाचित हुन् भने उपसभामुख राउत जनमत पार्टीबाट निर्वाचित भएकी हुन् ।