बुटवल, २७ कात्तिक।

पहाडी भेगमा पाइने किङ कोब्रा (राज गोमन) सर्प तराई क्षेत्रको रूपन्देहीमा पहिलोपटक भेटिएको छ ।

रुपन्देहीको देवदह नगरपालिका–१० चरङ्गेकी लेमकुमारी रानामगरको घरमा किङ कोब्रा भेटिएको हो । यसअघि नदेखेको निकै लामो र ठूलो सर्प देखेपछि राना परिवारले सर्प उद्धारकर्तालाई खबर गरेका थिए ।

सर्प उद्धारकर्ता विशाल पाण्डेका अनुसार चरङ्गेमा भेटिएको किङ कोब्रा १२ फिट ३ इन्च लम्बाइ र ७ किलो २०० ग्राम तौलको रहेको छ । सर्प उद्धारकर्ता विशालको नेतृत्वमा बुटवल स्नेक रेस्क्यु टिमका नवीन पौडेल, सागर पाण्डे, विश्वास पाण्डेलगायतले तीन घण्टाको मिहिनेतपछि किङ कोब्रा समाएका थिए ।

किङ कोब्रालाई उद्धार गरेपछि डिभिजन वन कार्यालय रोहरबरमा सर्जमिन गरी जिल्लाकै घना जंगल क्षेत्र, सुरक्षित वासस्थानमा छोडिएको देवदह–१० का वडाअध्यक्ष एकबहादुर सुनारले बताए ।

नेपालमा अत्यन्त दुर्लभ मानिएको राज गोमन सर्प पछिल्लो समय नेपालको मध्यपहाडी क्षेत्रमा छिटफुट देखिन थालेपछि सर्पसम्बन्धी विज्ञहरूले यसको संरक्षण गर्नुपर्ने भन्दै बहस सुरु गरेका छन् ।

अत्यन्त विषालु प्रजाति भए पनि नेपालमा यसले मानिसलाई डसेको जानकारी नभएको विज्ञहरूले बताएका छन् । नेपालमा पाइने ८२ प्रजातिका सर्पमध्ये किङ कोब्राको संख्या अत्यन्त न्यून रहेको र यसले आहारका रूपमा अन्य सर्प प्रजाति खाने उद्धारकर्ता नवीन पौडेलले बताए ।

सन् २००९ अर्थात १४ वर्षअघि बुटवलको फूलबारीमा मृत अवस्थामा एउटा किङ कोब्रा फेला परेको थियो ।

विशाल पाण्डेको टिमले यस वर्ष वैशाख महिनादेखि रुपन्देहीको तिलोत्तमा स्थित एक घरबाट एकैपटक २३ वटा अति विषालु कमन कोब्रा, ६ वटा रसल्स भाइपरसहित ४०० बढी विषालु सर्प उद्धार गरी सुरक्षित स्थानमा छोडेको छ ।