काठमाडौँ ।

जेनजी प्रतिनिधि सुदन गुरुङले जेनजीले राखेका माग पूरा नभए निर्वाचन हुन नसक्ने बताएका छन् ।

लैनचौरस्थित स्काउटको जग्गामा खड्का ल्यान्ड प्रालिले बनाएका संरचना भत्काउन पुगेका गुरुङले जेनजीका माग पूरा हुनुपर्ने बताए । उनले सबै जेनजी एउटै ठाउँमा रहेको र सबैका माग एउटै भएको पनि जिकिर गरे ।

गुरुङका अनुसार केही बाहेक सबै जेनजीहरू एउटै ठाउँमा छन् र माग पूरा हुनुपर्नेमा जोड दिएका छन् । उनले चेतावनी दिँदै भने, जेनजीका माग पूरा नभए अर्को आन्दोलन हुने छ र यसको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्यालले लिनुपर्ने छ ।

जेनजीका हरेक वार्तामा गृहमन्त्रीको संलग्नता रहेको र आफूलाई माग पूरा हुने विश्वास पनि गृहमन्त्रीले दिएको उनले बताए । गुरुङले भने, “समग्रमा हामी जेनजीहरूको टिम एक ठाउँमा छौँ । एक–दुई जना तलमाथि हुनुहुन्छ, उहाँहरूलाई नै बोलाउँछौँ ।”

सरकारले जेनजीका माग पूरा गर्नुपर्नेमा उनको जोड छ । गुरुङले भने, “माग पूरा नभइकन कसरी चुनाव हुन्छ ! यो सबै कुरा गृहमन्त्रीज्युले जिम्मा लिनुपर्छ । उहाँ हामीसँग जंगीअड्डामा पनि सँगै हुनुहुन्थ्यो । राष्ट्रपति कार्यालयमा संविधानविद् भनेर चिनाइएको हो । माग पूरा हुन्छ कि हुँदैन, उहाँहरूलाई थाहा थिएन र ?”

गुरुङले जेनजीका माग पूरा नगरेमा धोका दिएको ठम्याइ समेत व्यक्त गरे । उनले गृहमन्त्री अर्यालप्रति आक्रोश व्यक्त गर्दै भने, “गिरीबन्धुमा म लडेको हो भनेर कन्भिन्स गरेको मान्छे । यो सबै (माग पूरा) भएन भने हामीलाई धोका दिनुभएको हो । अहिले आएर चुनाव चुनाव भन्नुहुन्छ ।”