काठमाडौँ ।

पूर्वऊर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्काको कम्पनीले लैनचौरस्थित नेपाल स्काउटको जग्गामा बनाएका संरचना काठमाडौँ महानगरपालिकाले डोजर प्रयोग गरेर भत्काएको छ ।

लैनचौरस्थित स्काउटको जग्गा खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिले भाडामा लिएर उपभोग गर्दै आएको थियो । तर भाडा नतिरेपछि नेपाल स्काउटले यही कात्तिक २० गते सूचना जारी गरी भाडा चुक्ता गर्न ७ दिनको म्याद दिएको थियो ।

उक्त म्याद सकिएपछि बिहीबार नेपाल स्काउटको जग्गा महानगरपालिकाको सहयोगमा युवा तथा खेलकुद मन्त्रालयले खाली गराएको खेलकुदमन्त्री बब्लु गुप्ताको सचिवालयले जानकारी दिएको छ ।

लैनचौरस्थित कित्ता नम्बर १०, खानी विभागसँग जोडिएको ३ रोपनी रैकर जग्गा भोगचलन गर्न नेपाल स्काउट र खड्का ल्यान्ड डेभलपमेन्ट प्रालिबीच २०६५ मा सम्झौता भएको थियो । १० वर्षे करार सम्झौता २०७५ सालमै सकिए पनि कम्पनीले जग्गा छाडेको थिएन ।