२५ कात्तिक, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मधेश प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णलाई पद तथा गोपनीयताको शपथ गराएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसअनुसार कर्णलाई मधेश प्रदेश प्रमुखमा नियुक्त गर्दै शपथ ग्रहण गराइएको हो । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाका अनुसार, यो नियुक्ति संविधानको धारा १६३ को उपधारा (२) बमोजिम गरिएको छ ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे र अन्य उच्च पदाधिकारीहरू उपस्थित थिए ।

यसअघि सोमबारको मन्त्रिपरिषद्को बैठकले सुमित्रा सुवेदी भण्डारीलाई मधेश प्रदेश प्रमुखबाट पदमुक्त गर्ने निर्णय गरेको थियो । भण्डारीले संविधान विपरीत सर्लाहीको बर्दिवासमा नेकपा एमालेका सरोज कुमार यादवलाई बिहानै मुख्यमन्त्री नियुक्त गरी होटलमै शपथ गराएकी थिइन् ।

भण्डारीको कदमको विरोधमा सोमबार दिनभर जनकपुर तनावग्रस्त बनेको थियो । प्रदेशसभाका असन्तुष्ट दलहरूले मुख्यमन्त्री कार्यालयमा तोडफोडसमेत गरेका थिए ।