काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले आइतबार तालिका सार्वजनिक गरेको हो ।

क्यानका अनुसार आउँदो मंसिर १ गतेदेखि सुरु हुने दोस्रो संस्करणका खेलहरू त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानमा खेलिने छन् । यसपटकको लिगमा केही खेल फ्लडलाइट (रातिको उज्यालोमा) पनि खेलिने भएका छन् ।

तालिका अनुसार उद्घाटन खेलमा गत वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाडौँ गोर्खाज आमनेसामने हुनेछन् । खेल दिउँसो ४ बजेदेखि सुरु हुनेछ । उद्घाटन खेल नै फ्लडलाइटमा खेलाइने क्यानले जनाएको छ ।

यस संस्करणमा लिग चरणका १९ खेलसहित तीन प्लेअफ र फाइनल गरी कुल २३ खेल फ्लडलाइटमा हुनेछन् ।

त्रिवि क्रिकेट मैदानमा हाल करिब १० हजार दर्शक क्षमता भएको प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडानको काम अन्तिम चरणमा पुगेको क्यानले जनाएको छ ।

त्यस्तै, आठै टोलीका विदेशी खेलाडी र प्रशिक्षक काठमाडौँ आउने क्रम जारी छ । एनपीएल खेल्ने अधिकांश खेलाडी अहिले अभ्यासमा व्यस्त छन् ।