राहुकाल
दिउँसो २ बजेर २९ मिनेटदेखि दिउँसो ३ बजेर ५० मिनेटसम्म राहुकाल रहनेछ ।
नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रह्म मुहूर्त
बिहान ४ बजेर ४५ मिनेटदेखि बिहान ५ बजेर ३३ मिनेटसम्म ब्रह्म मुहूर्त रहनेछ ।

आजको राशिफल

मेष (चू, चे, चो, ला, लि, लू, ले, लो, अ)
आमा तथा आफन्तसँग घरायसी कुरामा राय बाझिनेछ भने साथीभाइसँग मनमुटाव सिर्जना हुने योग रहेको छ । समयमा काम नबन्ने भएकाले आर्थिक क्षेत्र कमजोर रहनेछ । घर-जग्गाको कारोबार गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । समय मध्यम रहेको छ । प्रेममा अविश्वास बढ्ने योग रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी गर्न सकिनेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वू, वे, वो)
मन मिल्ने साथीका साथ छोटो तथा रमाइलो यात्राको तय हुनेछ । प्रणय सम्बन्धमा सुधार हुनेछ । दाजुभाइको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । विवादित विषयहरू तपाईंको पक्षमा आउने हुँदा मन प्रसन्न रहनेछ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी गरी आर्थिक स्थिति बलियो बनाउन सकिनेछ । प्रविधिको प्रयोग गरी काम वा अध्ययनलाई सहज बनाउन सकिनेछ ।

मिथुन (का, की, कू, घ, ङ, छ, के, को, हा)
खोज तथा अनुसन्धानको क्षेत्रमा खर्चिएको समयबाट सकारात्मक नतिजा आउनेछ । पछिसम्म आम्दानी हुने व्यवसायमा लगानी बढाउन सकिनेछ । शुभ तथा माङ्गलिक सभा–समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । साङ्गीतिक यात्राको सम्भावना रहेको छ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्राको योग पनि रहेको छ ।

कर्कट (ही, हू, हे, हो, डा, डी, डु, डे, डो)
सबैको सहयोग पाइने भएकाले काम गर्न सहज हुनेछ । सामाजिक कार्यमा दिन बित्ने हुँदा मन प्रसन्न रहनेछ । व्यापार व्यवसायमा लगानी गरी मनग्गे धन सङ्कलन गर्न सकिनेछ । माया–प्रेममा सामिप्यता बढ्नेछ भने परिवार तथा आत्मीय मित्रसँग रमाइलो यात्रा हुनेछ । भौतिक सम्पत्ति तथा सवारी साधन प्राप्तिको योग रहेको छ । राजनीति तथा धार्मिक क्षेत्रमा काम गर्नेहरूका लागि समय उत्तम छ ।

सिंह (मा, मी, मू, मे, मो, टा, टी, टु, टे)
काम गर्दा विशेष ध्यान दिनुहोला, दण्ड तथा जरिवानाको सम्भावना रहेको छ । स्वास्थ्यमा समस्या आउन सक्छ तथा आफन्तहरू टाढिन सक्छन् । पढाइ–लेखाइमा समय दिन नसक्दा पछि परिनेछ । तर पनि कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाउनेछ भने विदेशमा श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । खानपान तथा भेटघाटमा समय व्यतीत हुनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो)
रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा विजयी भइनेछ । आर्थिक लाभ हुने काममा हात हाल्न सकिनेछ । ईर्ष्या गर्नेहरू आफैं किनारा लाग्नेछन् । आफ्ना योजना गोप्य राखेर अघि बढ्नुहोला । परिवारका इच्छा तथा आकांक्षा पूरा गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोगबाट आम्दानी बढ्नेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तू, ते)
पैतृक सम्पत्तिको प्रयोग गरी आर्थिक रूपमा सम्पन्न हुने योग रहेको छ । लक्ष्य प्राप्तिका लागि चालिएका पाइलाहरू सकारात्मक दिशामा अघि बढ्नेछन् । अध्ययन र कामलाई समयमा नै सकाउन सकिनेछ । प्रेममा नजिक हुने समय रहेको छ । छोटो दुरीको धार्मिक यात्राको योग पनि रहेको छ । धार्मिक सामग्री, खाद्यान्न, गरगहना तथा यात्रासँग सम्बन्धित वस्तुको व्यापारमा वृद्धि हुनेछ ।

वृश्चिक (तो, ना, नी, नू, ने, नो, या, यी, यू)
कल्याणकारी तथा तारिफयोग्य काम गरी चर्चामा आउन सकिनेछ । भाग्य र समयले साथ दिने भएकाले सानो प्रयत्नले ठूला काम बन्नेछन् । धर्म तथा आध्यात्मिक क्षेत्रमा ध्यान जाने हुनाले मन्दिर वा धार्मिक प्रतिष्ठानतिरको यात्रा हुनेछ । दाजुभाइ तथा जीवनसाथीसँग सम्बन्ध सुदृढ हुनेछ । लेखन–कलाको माध्यमबाट आफ्ना विचार अभिव्यक्त गर्न सकिनेछ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे)
सत्यता बुझेर अघि बढ्नुको सट्टा हल्लाको पछि लाग्दा दुःख पाइनेछ । पुरानो रोगले सताउन सक्छ, ध्यान दिनुहोला । अनावश्यक यात्रा तथा खर्च बढ्ने हुनाले मन चिन्तित रहनेछ । अरूकै काममा समय खर्चनु पर्ने हुँदा आफ्ना कार्य थाती रहन सक्छन् । सवारी साधनको प्रयोग गर्दा सावधानी अपनाउनुहोस् । प्रेममा अविश्वास बढ्दा दूरी आउन सक्छ । खानपान र भेटघाटमा समय व्यतीत हुनेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी)
सुख–दुःखमा साथ दिनेहरू भेटिनेछन् । परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन बलियो हुनेछ । दाम्पत्य सुखमा रमाउने समय छ । सहयोग र उपहार प्राप्त हुने सम्भावना छ । आय–आर्जन पनि राम्रो हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो व्यापारिक यात्राको योग रहेको छ । व्यापार, उद्योग तथा शेयर बजारमा लगानीबाट लाभ हुनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा)
कुनै पनि प्रतिस्पर्धामा तपाईंको नाम अग्रस्थानमा आउनेछ । टाढिएका आफन्तसँग भेट हुँदा मन प्रफुल्लित हुनेछ । व्यापार व्यवसाय फस्टाउनेछ भने आय–आर्जनका स्रोतहरू बढ्नेछन् । प्रेममा नजिक हुने योग छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय आएको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग प्राप्त हुनेछ । छोटो दुरीको धार्मिक तथा लामो दुरीको शैक्षिक यात्राको योग छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची)
मेहनतले प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ । सन्तानको प्रगति देख्न पाइने भएकाले मन प्रसन्न रहनेछ । माया–प्रेमको सम्बन्ध थप बलियो हुनेछ । जीवनसाथीको सहयोगले कार्य समयमा नै पूरा गर्न सकिनेछ । शुभ तथा माङ्गलिक सभामा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । संस्कार र संस्कृतिको जगेर्नामा समय व्यतीत हुनेछ ।

तपाईंको दिन शुभ रहोस्