काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले समानुपातिकतर्फका उम्मेदवार बन्न इच्छुक व्यक्तिहरूका लागि आवेदन खुला गरेको छ ।

पार्टीका सहमहामन्त्री विपिन आचार्यका अनुसार उम्मेदवार बन्न चाहनेका लागि रजिस्ट्रेसन शुल्क पनि तोकिएको छ । उनले नेपालखबरसँग भने, ‘प्रत्यक्षतर्फ हामीले २५ हजार रुपैयाँ लिएका थियौँ । यसपटक समानुपातिकमा ५० हजार रुपैयाँ शुल्क तोकिएको छ । तर, शुल्क बुझाउन नसक्ने व्यक्तिलाई आवेदन दिन रोकिएको छैन । इच्छुक व्यक्तिले विवरण सहित निवेदन दिएपछि पार्टीले अध्ययन गरेर शुल्क नलिइकनै पनि आवेदन स्वीकार गर्न सक्छ ।’

रास्वपाले कात्तिक २२ गते चितवनमा सम्पन्न विस्तारित बैठकपछि समानुपातिकतर्फको उम्मेदवारी आह्वान गरेको हो ।

निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची पुस १८–१९ गते तयार हुने छ । रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि अलग मापदण्ड तय गरेको छ, जसको जिम्मेवारी सहमहामन्त्री आचार्यले पाएका छन् ।

पार्टीले स्पष्ट पारेको छ कि शुल्क बुझाए पनि सांसदमा छनोट हुन नसक्ने अवस्थामा रकम फिर्ता नहुने छ ।

यसअघि रुपन्देहीमा तय गरिएको प्रतिनिधिसभा निर्वाचन (प्रत्यक्षतर्फ) का उम्मेदवार छनोटका लागि २५ हजार रुपैयाँ शुल्क तोकिएको थियो । निर्वाचन भने हुन सकेन । आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि ५० हजार रुपैयाँ शुल्क तोकिएको छ ।

गत भदौ २३–२४ गतेको जनजीवी आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेर पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा सरकार गठन भएको थियो । उक्त सरकारले फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरेको हो ।

रास्वपाले उम्मेदवार बन्न चाहने व्यक्तिहरूले अनलाइन वा कार्यालयमा उपस्थित भएर आवेदन दिन सक्ने जानकारी दिएको छ । आवेदन प्राप्त भएपछि विभिन्न मापदण्ड अनुसार उम्मेदवारको छनोट गरिने बताइएको छ ।