काठमाडौँ ।

पछिल्ला सात वर्षमा टेलिकम सेवाप्रदायक कम्पनीहरूको आम्दानी झन्डै २८ प्रतिशतले घटेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, दुई प्रमुख टेलिकम सेवाप्रदायक कम्पनीहरूले आर्थिक वर्ष २०७४/७५ मा ९८ अर्ब ७१ करोड रुपैयाँ आम्दानी गरेकोमा, गएको आर्थिक वर्षमा यो रकम ७१ अर्ब २१ करोड रुपैयाँमा सीमित भएको छ । यो निरन्तर ओरालो लागिरहेको छ ।

टेलिकमको घट्दो आम्दानीको असर नाफामा स्पष्ट देखिएको छ । नाफा खुम्चिँदा कम्पनीहरूले गर्ने लगानीमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । टेलिकम क्षेत्रका जानकारहरू भन्छन् कि पछिल्ला वर्षमा आम्दानीका स्रोत बढाउन नसक्दा यो क्षेत्र सङ्कटोन्मुख बनेको छ ।

उनीहरूका अनुसार तत्काल नीतिगत सुधार नगरे यस क्षेत्र अझ समस्यामा पर्न सक्छ ।

आम्दानी र नाफामा देखिएको सङ्कुचनका कारण ‘फाइभजी’ लगायतका पूर्वाधारमा आवश्यक लगानी हुन नसकेको तर्क पनि कतिपयले प्रस्तुत गरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भेषराज कँडेलले भने, दूरसञ्चार सेवालाई अत्यावश्यक सेवाका रूपमा लिनुपर्ने अवस्था रहेपनि नेपालमा यसमा विलासितापूर्ण वस्तु जस्तै कर लगाइएको बताए ।