कपिलवस्तु। नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कपिलवस्तु जिल्ला कमिटीको पदाधिकारी बैठक सोमबार सम्पन्न भएको छ । नेकपा एमाले बाणगंगा नगर कमिटीको कार्यालय बैरियामा बसेको उक्त बैठकले विभिन्न महत्वपूर्ण निर्णय गरेको जिल्ला कमिटीका सचिव तथा प्रचारप्रसार विभाग प्रमुख चन्द्र बहादुर गहतराजले जानकारी दिनुभयो ।

बैठकले केन्द्रीय सचिवालयको निर्णयअनुसार आगामी दिनमा सञ्चालन हुने कार्यक्रमहरू निर्धारण गरेको छ । निर्णय अनुसार कार्तिक २२ गते जिल्लाका सबै वडामा भेलाहरू आयोजना गरिने र जिल्लाका ९६ वटै वडामा जनसङ्ग्रह अभियान सञ्चालन गरिने तयारी गरिएको छ ।

यस्तै कार्तिक २५ गते जिल्लाका १० वटै पालिकामा जनप्रदर्शन गर्ने र कार्तिक २९ गते बाणगंगा नगरपालिकामा शान्तिपूर्ण जनसभा आयोजना गर्ने निर्णय समेत बैठकले गरेको छ । जिल्ला कमिटीका अनुसार वर्तमान राजनीतिक परिस्थितिलाई जनतामाझ स्पष्ट पार्ने उद्देश्यले यी कार्यक्रमहरू आयोजना गर्न लागिएको हो ।

यसका साथै जिल्ला कमिटीको चौथो बैठक कृष्णनगर उद्योग वाणिज्य संघको सभाहलमा आयोजना गर्ने प्रस्ताव पनि बैठकले गरेको छ ।

बैठकका प्रमुख अतिथि एवं एमाले केन्द्रीय कमिटी सदस्य बलराम अधिकारीले पार्टीका निर्णयहरूले संगठनलाई अझ सुदृढ बनाउने र जनतासँगको सम्पर्कलाई मजबुत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले पार्टीका सैद्धान्तिक विचार र नीति जनस्तरसम्म पुर्‍याउन कार्यकर्ताहरू सक्रिय भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रम जिल्ला कमिटीका अध्यक्ष बाबुराम खनालको अध्यक्षता र केन्द्रीय सदस्य बलराम अधिकारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको जिल्ला कमिटीले जनाएको छ ।