बाणगंगा । बाणगंगा नगरपालिकाको कार्यपालिकाको बैठक आईतबार सम्पन्न भएको छ । बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गर्दै अघिल्ला कार्यपालिकाका निर्णयहरूको कार्यान्वयनको समीक्षा गरेको नगर प्रवक्ता विष्णु प्रसाद पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले अघिल्लो कार्यपालिकाका निर्णयहरू सन्तोषजनक रूपमा कार्यान्वयन भएको निष्कर्ष निकालेको छ । त्यस्तै, केही कारणले रोकिएको जग्गा कित्ता काट प्रक्रिया भोलि सोमबारदेखि पुनः सुचारु गर्ने निर्णय पनि गरिएको उहाँले बताउनुभयो ।

नगरप्रमुख चक्रपाणी अर्यालले बैठकका निर्णयहरू नगर विकासका लागि महत्वपूर्ण हुने बताउँदै स्थानीय सेवाग्राहीको सुविधा र प्रशासनिक कामकाजमा पारदर्शिता कायम गर्न आफू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो । “नगरको विकास योजनाहरू जनताकै सुझाव र प्राथमिकतामा आधारित छन्, अबका दिनमा सेवा वितरणलाई अझ प्रभावकारी बनाउने हाम्रो लक्ष्य हो, ” उहाँले भन्नुभयो ।

त्यस्तै, उप–प्रमुख रिता कुमारी चौधरीले बैठकमा महिलामैत्री कार्यक्रम, सामाजिक सुरक्षा र स्थानीय स्तरका पूर्वाधार योजनामा प्राथमिकता दिनुपर्ने विषयमा जोड दिनुभएको छ । उहाँले समावेशी योजना र महिलाको आर्थिक सशक्तिकरण नगरको मुख्य एजेण्डा भएको बताउनुभयो ।

नगर कार्यपालिकाको यो बैठकमा जनप्रतिनिधि, विभिन्न शाखा प्रमुख र सरोकारवालाको सहभागिता रहेको थियो ।