काठमाडौँ ।

निरन्तरको वर्षापछि सडकमा लेदो थुप्रिँदा बीपी राजमार्ग पूर्णरुपमा अवरुद्ध भएको छ ।

वर्षाको कारण गएरातिदेखि बीपी राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

काभ्रेका प्रहरी नायब उपरीक्षक रबिन विष्टका अनुसार काभ्रेको नमोबुद्ध नगरपालिका–६ चौकिडाँडा, रोसी गाउँपालिका–७ चारसयबेँसी, रोसी–११ डालाबेँसी, रोसी–९ बिरुवाडाँडा, कोक्सिकुना र नार्के लगायतका ठाउँमा सडक पूर्णरुपमा अवरुद्ध भएको हो ।

डीएसपी विष्टले बताएअनुसार ती ठाउँमा सडकको माथिबाट लेदो र ढुंगा खसेर बाटो दुईतर्फी नै अवरुद्ध भएको छ ।

सडक धेरै ठाउँमा अवरुद्ध भएकाले मर्मतमा समय लाग्ने प्राधिकरणले जनाएको छ । बीपी राजमार्ग अवरुद्ध हुँदा हजारौँ यात्रु अलपत्र परेका छन् ।

वर्षाको कारण जोखिम बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कात्तिक १३ र १४ गते रातिको समयमा बीपी राजमार्गमा आवागमन बन्द गरेको थियो ।