काठमाडौँ ।

‘गरिखान देउ’ अभियानका संयोजक मिराज ढुंगानाले नयाँ राजनीतिक पार्टी घोषणा गर्ने भएका छन् । उनले यही शनिबार काठमाडौँको होटल एभरेस्टमा दिउँसो १ बजे पत्रकार सम्मेलन गरी पार्टीको औपचारिक घोषणा गर्ने बताएका छन् ।

एक टिकटक भिडियो सार्वजनिक गर्दै ढुंगानाले पार्टी खोल्नैपर्ने अवस्था आएको बताएका छन् । उनका अनुसार यसका लागि वार्ता समिति गठन भइसकेको छ र काम भइरहेको छ ।

“राजनीतिक दल खोल्नुको अर्थ यो होइन कि हामी देशको अहिलेको अवस्थामै निर्वाचनमा जान्छौँ,” उनले भनेका छन्, “जबसम्म हाम्रो बटमलाइन — प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री व्यवस्था, विदेशमा रहेका नेपाली नागरिकलाई मतदान अधिकार सुनिश्चित गर्ने व्यवस्था, र भ्रष्टाचार नियन्त्रणका लागि नागरिक तहको निकाय गठन — पूरा हुँदैन, तबसम्म हामी निर्वाचनमा जाने छैनौँ ।”

उनले भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’लाई परिवर्तनको सुरुआतको रूपमा व्याख्या गर्दै आफूहरू अझै शान्तिपूर्ण ढंगले संघर्षरत रहने स्पष्ट पारेका छन् ।

यो आन्दोलन देशको मुहार फेर्ने अभियान भएको उल्लेख गर्दै, ढुंगानाले यो अवसर फेरि चाँडै नफर्किने दाबी गरे । साथै, देशको विकास चाहने सबैलाई आफूहरूसँग जोडिन आह्वान गरेका छन् ।

“देश गम्भीर अवस्थामा छ । ७८ जना नेपालीले ज्यान गुमाइसकेका छन् । अहिले देशले निकास खोजिरहेको छ, र त्यसमा हामी आफूलाई जिम्मेवार ठान्छौँ । हामी निकास दिलाएरै छाड्छौँ,” उनले भनेका छन् ।